समाज

दुर्घटनापछि पक्राउ पर्ने डरले मृतक साथी छाडेर भागे जन्ती

सर्लाही– टेम्पो पल्टिँदा जन्ती आएका भारतीय नागरिकको मृत्यु भएको छ।
बिहीबार बिहान जिल्लाको दक्षिण पश्चिम क्षेत्रस्थित गोडैता नगरपालिका–३, भगवतीपुरमा टेम्पो पल्टिँदा भारत सीतामढी प्रितमपुरका ६२ वर्षीय बिजेन्द्र महतोको घटनास्थलमै मृत्यु भएको छ। स्थानीय विलट महतोको घरमा जन्ती भोज खाएर घर फर्किदै गर्दा बीआर ३० पी ९९१८ नम्वरको टेम्पो अनियन्त्रित भइ सडकबाट खेतमा पल्टँदा त्यसमा सवार महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तीब्र गति रहेकाले कालोपत्रे सडकको घुमाउरो मोडमा अनियन्त्रित भएर टेम्पो पल्टिएको स्थानीयले बताएका छन्।

दुर्घटनामा टेम्पोका चालकसहित अन्य आधा दर्जन भारतीय नागरिक घाइते भए पनि उनीहरु पक्राउ पर्ने डरले तत्कालै भारततर्फ भागेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याइएको र घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रकाशित: १९ वैशाख २०७६ १०:०४ बिहीबार

भारतीय_नागरिक दुर्घटना मृत्यु