समाज

सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा ज्येष्ठ नागरिक प्रभावित

सल्यान–सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका साढे दुई हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरण नहुँदा समस्या भएको छ।

नगरपालिकाले छ महीनादेखि सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकेपछि सामाजिक सुरक्षाभत्तामा आश्रित ज्येष्ठ नागरिक प्रभावित हुन थालेका छन्। सामाजिक सुरक्षा भत्ता नपाएपछि आफूहरुलाई समस्या पर्न थालेको ज्येष्ठ नागरिकको भनाइ छ। वनगाड कुपिण्डे–५ चिउराका ८० वर्षीय पुरनसिंह नेपालीले आफूले त्यही भत्ताबाट नियमित औषधि किन्ने गरेकामा भत्ता नपाएपछि समस्या परेको बताए। 'नगरपालिकाबाट आएको भत्ताले नियमित खाने औषधि किनेर खान्थे भत्ता नआएको छ महीना बितिसक्यो औषधि किन्ने एक पैसा छैन', नेपालीले भने।

घरको दैनिक खर्च टार्दै आएकी वनगाड कुपिण्डे–४ चिउराकी विरमी कामीलाई पनि भत्ता नपाएपछि समस्या पर्न थालेको छ। 'आम्दानीको अर्को कुनै स्रोत छैन, त्यही भत्ताले घरको खर्च टर्दै आएको थियो छ महीनासम्म नपाउँदा घर चलाउन गाह्रो हुनथालेको छ', विरमीले भनिन्। अपाङ्गता भएका व्यक्ति वनगाड कुपिण्डे–५ राउचेका ठाकुर बुढाथोकीको पनि समस्या उस्तै छ। मासिक रु ६०० का दरले भत्ता पाउँदै आएका बुढाथोकीले नपाउँदा आफूलाई आवश्यक पर्ने सामान खरीद गर्न नपाएको दुखेसो पोख्नुभयो।

नगरपालिकाभित्रका दुई हजार ९७३ ले सामाजिक सुरक्षा भत्ता पाउँदै आएकामा यस आर्थिक वर्षको कात्तिकदेखि रकम उपलब्ध गराउन नसकेको नगरपालिकाले जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएपछि रकम निकासा नभएको वनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द पुनले जानकारी दिए। पुनले भने 'कार्यालय प्रमुख सरुवा भएर गएपछि रकम निकासा हुनसकेको थिएन, अब नयाँ आइसक्नुभएको छ छिट्टै सामाजिक सुरक्षा भत्ता वितरण गर्छाैं।'

प्रकाशित: १९ वैशाख २०७६ ०६:२३ बिहीबार

बनगाड_कुपिण्डे ज्येष्ठ_नागरिक सामाजिक_सुरक्षाभत्ता