समाज

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लहान - पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगरपालिका ८ कसहा चोकमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मोटरसाइकल पछाडि सवार एक जना घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को३०प २४५७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना३ख ६८१३ नम्बरको टिपरले ठक्कर दिएको थियो।

मृत्यु हुनेमा खोटाङ चिसापानी ३ का ३० बर्से प्रकाश राई रहेका इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताए।

मोटरसाइकल पछाडि बसेका बारपोखरी ५ का २२ बर्से दिलकुमार राईको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ।

टिपरले मोटरसाइकललाई ठक्कर दिएर करिब २० मिटर पूर्वतर्फ राजमार्गमै घिसारेकाे प्रत्यक्षदर्शीले बताएका छन्।


ठक्कर दिने टिपरका चालक फरार रहेको प्रहरीले जनाएको छ। टिपर बन्दीपुर क्षेत्रबाट ढुंगा लोड गरेर पूर्वतर्फ जाँदै थियो। टिपरले मोटरसाइकल चालकलाई घिसारेर किचेको भन्दै स्थानीयले केही बेर पूर्वपश्चिम राजमार्गको कसहा खण्डमा यातायात अबरुद्ध पारेका थिए।

प्रकाशित: १८ वैशाख २०७६ १३:५१ बुधबार

टिपर टिपरकाे_ठक्कर बन्दीपुर_क्षेत्र लहान