समाज

पर्यटकका लागि विद्युतीय बस

प्रतिकात्मक तस्बिर

ललितपुर– ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने उद्देश्यले विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ। महानगरको भित्री भागमा रहेका पर्यटकीय गन्तव्यमा बस सञ्चालनको योजना बनाइएको हो। कुनकुन रुटमा कति बस आवश्यक छ भनेर अध्ययन भइरहेको महानगरले जनाएको छ।

यस वर्षको बजेटमा महानगरले पाँच करोड रुपैयाँ विद्युतीय बस सञ्चालनका लागि छुट्टाएको थियो। भित्री भागमा सबैतिर सार्वजनिक सवारी पनि नजाने र ट्याक्सीले पनि बढी भाडा लिने हुँदा पर्यटकलाई सुविधा दिन बस सञ्चालन गर्न लागिएको महानगरका प्रवक्ता राजु महर्जनले बताए।

पर्यटकले एकातिर छोटो दूरीमा ट्याक्सी जानै नमान्ने र गएकाले पनि बढी भाडा लिन खोज्ने गुनासो गर्दै आएका छन्। उनका अनुसार बस सञ्चालनले विशेष गरेर असाहय, वृद्ध र अपाङ्गता भएका पर्यटकलाई सुविधा हुनेछ। उनले भने, 'बसमा चढेर खासखास घुम्नुपर्ने सबै स्थानमा पर्यटकलाई पु-याउने हाम्रो लक्ष्य हो।' पुल्चोकबाट मङ्गलबजार र पाटनढोकाबाट मङ्गलबजारसम्म बस सञ्चालन गर्ने योजना रहेको प्रवक्ता महर्जनले बताए।

पाटनभित्र रहेका दरबार क्षेत्रसँगै अरु मन्दिर, विहारलगायतका पर्यटकीय गन्तव्यलाई समेटेर रुट बनाइने उनले बताए। उनले भने, 'अध्ययन प्रतिवेदनका आधारमा छिट्टै सञ्चालन गर्ने योजना छ।' महानगरले साझाको एक करोड रुपैयाँको शेयर खरीद गरेर विभिन्न रुटमा बस सञ्चालन भइरहेको छ।

प्रकाशित: १८ वैशाख २०७६ ०८:३२ बुधबार

ललितपुर_महानगरपालिका विद्युतीय_बस पर्यटकीय_गन्तव्य