समाज

अर्थमन्त्री खतिवडा फिजी जाँदै

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडा एशियाली विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन फिजी तर्फ प्रस्थान गर्दैछन् । खतिवडा आज राति ९ बजे फिजी प्रस्तान गर्नेछन्।

आगामी मे ०२–०५ सम्म फिजीको नादीमा आयोजना हुने बैठकमा मन्त्री खतिवडाले नेपालको गर्भनरको रुपमा वार्षिक बैठकका विषय सूचीहरुमा धारणा राख्ने बताइएको छ। बैठकमा अर्थमन्त्री खतिवडाले एशियाली विकास बैंकका अध्यक्ष तथा दक्षिण एशियाका महानिर्देशक, युरोपियन लगानी बैंक, ओफिडलगायतका वित्तिय संस्थाहरुका उच्च पदस्थ प्रतिनिधिहरुसँग महत्वपूर्ण छलफल तथा भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

दक्षिण एशियाली क्षेत्रिय सहयोग (सार्क) अर्थमन्त्रीस्तरीय अनौपचारिक बैठकलाई अध्यक्षता गर्दै सम्बोधन गर्नु हुनेछ। यसका साथै सार्क विकास कोषको गर्भनिङ काउन्सिलको बैठकमा समेत उहाँ सहभागी हुने कार्यक्रम छ।

उनले बैठक र द्धिपक्षीय वार्ताको क्रममा नेपालको संंघीयता कार्यान्वयन, पूर्वाधार निर्माणलगायत समग्र विकासको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटाउन आवश्यक पहल गर्नुका साथै नेपालमा लगानीको वातावरण सुधार हुर्दै गएको सन्देश विश्व समुदायका वित्तीय क्षेत्रका जानकारहरुलाई दिनेछन्।

मुलुक संघीयता कार्यान्वयनको चरणमा भएकाले वित्तीय संघीयतालाई व्यवहारिक रुपमा सफल कार्यान्वयनको प्रक्रियामा प्रवेश गरेको विश्व समुदायलाई जानकारी दिने बताइएको छ। अर्थमन्त्री खतिवडा २१ गते साँझ स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित: १७ वैशाख २०७६ ०८:४६ मंगलबार

अर्थमन्त्री_डा._युवराज_खतिवडा एशियाली_विकास_बैंक युरोपियन_लगानी_बैंक ओफिड