रामेछाप – आइतबार विहान दोलखा जिल्लाबाट काठमाण्डौ जानका लागि यात्रु लिएर हिडेको अरनिको यातायात सेवा समितिको बा. ३ ख ३२६१ नम्बरको बसको ढोकाबाट खस्दा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन।
आइतबार विहान बसमा चढेर सदरमुकाम मन्थली आउदै गरेका मन्थली नगरपालिका २ टेकानपुरकी २२ बर्षिया सुमित्रा कार्की र १६ बर्षिया मानिषा कार्की गाडीको ढोकाबाट खसेका हुन। गाडी चढेर ढोकाकै छेउमा उभिएका उनीहरु केही समयमै सडकको मोडमा गाडी मोडिने क्रममा गाडिबाट खसेका हुन। गाडीबाट खसे लगतै उनलाई गाडीले ठक्कर दिएको थियो।
घाइते दुबैलाई मन्थली स्थित तामाकोशी सहकारी अस्पतालमा उपचार पश्चात थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको थियो। उपचारका लागि लैजादै गर्दा सुमित्रा कार्कीको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए। अर्की घाइते मनिषा कार्कीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। गाडी र सवारी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिए राखेको प्रहरीले जनाएको छ।
प्रकाशित: १६ वैशाख २०७६ ०३:१६ सोमबार