समाज

‘दाइजोमा पलङ नदिँदा महिलाको हत्या’

रौतहट– दाइजोमा लाखौँ रुपैया ल्याए पनि सुत्ने पलङ नल्याएको निहुँमा रौतहटमा जना महिलाको हत्या भएको आरोप माइती पक्षले लगाएको छ। शनिबार झुण्डिएको अवस्थामा भेटिएकी एक युवतीलाई पलङको निहुँमा हत्या गरेर झुण्ड्याएको आरोप माइती पक्षले लगाएको छ।

रौतहटको राजदेवी नगरपालिका ३ चण्डीहाका २४ वर्षीय विवेक तिवारीकी २२ बर्षिया श्रीमती निशा उपाध्याय तिवारीलाई माइतीबाट दाइजोस्वरुप सुत्ने पलङ नल्याएको निहुँमा चरम यातना दिई हत्या गरी आत्महत्या बनाउन पासोमा झुण्डयाइएको आरोप माइती पक्षका दाजु दिलिप उपाध्यायले लगाएका छन्। 

रौतहटको गढीमाई नगरपालिका ५ मदनपुरका रामबाबु उपाध्यायकी भतिजी निशाको राजदेवी नपा चण्डिहा बस्ने विरेन्द्र तिवारीको छोरा विवेकसंग २०७३ साल फागुन २२ गते सामाजिक परम्पराअनुसार मागी विवाह भएको थियो। विहेमा नगद ८ लाख, मोटरसाइकल, टिभी, दराज लगायतका सामानहरु दिए पनि सुत्नका लागि पलङ नदिँदा पटक पटक यातना दिने गरेको मृतककी भाउजू रेखा तिवारीले दाबी गरिन्।

छोरी निशालाई जेठानी सोनी तिवारी, श्रीमान विवेक र ससुरा विरेन्द्र मिलेर हत्या गरेको मृतककी आमा पार्वती देवीले दाबी गरिन्। पलङको लागि पटक पटक यातना दिने गरेको र पलङ ल्याउन माइती घरबाट निकालेर माइती पठाउने गरेको पार्वतीले सुनाइन्।

मृतक युवतीको शव जिल्ला अस्पताल गौरमा राखिएको छ। पोस्टमार्टमको रिपोर्ट आइसकेको छैन। माइती पक्षले अस्पताल र प्रहरीलाई पनि मिलाउन खोजेको आशंका गरेको छ। पत्रकारहरुले सत्यतथ्य सार्वजनिक गरी घटनाको निष्पक्ष छानबिन गर्न सहयोग गर्नुपर्ने अन्यथा मुद्दा गुपचुपमै मिल्ने आशंका माइती पक्षको रहेको छ।

घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले निशा तिवारीको मृत्यु भएको तर हत्या वा आत्महत्या भन्ने कुरा पोष्र्टमार्टम रिपार्ट आएपछि मात्र स्पष्ट पार्न सकिने बताएका छन्। घटनाको विषयमा अनुसन्धान भइरहेको एसपी खत्रीले बताए।

प्रकाशित: १५ वैशाख २०७६ १४:३८ आइतबार

दाइजो महिला हत्या