समाज

बालविवाहविरुद्ध सामुहिक लड्ने प्रतिबद्धता

अछाम– ‘गाउँमा कतैबाट बिहे भोजको निम्तो आयो र तपाई त्यहाँ भोज खान जानु भयो तर त्यो बालविवाह हो भने तपाई भोज खाएर फर्किनु हुन्छ कि के गर्नुहुन्छ सर?’ अछामको मेल्लेख गाउँपालिका अध्यक्ष लोकबहादुर बोहरालाई लक्षित गर्दै तुलाराम रोकायाले प्रश्न सोधे। जवाफमा गाउँ बाल संरक्षण समितिका अध्यक्षसमेत रहेका बोहराले भने–‘यदि बाल विवाह भइरहेको छ भने भोज खाएर फर्किने त कुरै भएन बिहे नै रोक्न लगाईन्छ, तर त्यस बारेमा जानकारी चाही हुनुप-यो।’ बोहराले अगाडी थपे–‘तपाईको गाउँ ठाउँमा कहिँकतै बालविवाह भइरहेको छ भने हामीलाई खबर गर्नुहोस् प्रहरी तत्काल त्यहाँ पुगेर बालविवाह गर्नेलाई कानुन बमोजिम कारवाहि गर्छ।’

गाउँपालिका अध्यक्षको जवाफ सकिएपछि पुनः रोकायाले अर्को जिज्ञासा राखे–‘त्यसो भए गाउँपालिका न्यायीक समितिमा हालसम्म कति बालविवाहका उजुरी दर्ता गर्नुभएको छ?’ प्रश्न सकिएलगत्तै बोहराको उत्तर आयो–‘हालसम्म न्यायीक समितिमा बालविवाहको उजुरी त एउटा पनि दर्ता भएको छैन।’ बालविवाह न्युनिकरण गर्न रणनीतिक योजना निमार्णको लागि यहि बैशाख ७ गते वाक नेपाल र मेल्लेख गाउँपालिकाको सयुक्त आयोजनामा भएको गाउँवासीको आमभेलामा भएको सवाल जवाफ हो यो। गाउँपालिका अन्र्तगत आठ वटै वडाका जनप्रतिनिधी, वडाहरुमा गठित बालक्लबलगायत गाउँपालिका स्तरिय सम्पुर्ण सरोकारवालाको सहभागितामा गाउँपालिकाले रणनीतिक योजना निमार्णका लागि मस्यौदा निमार्ण गरेको छ।

गाउँपालिकामा दुई दिनसम्म चलेको गाउँपालिकाका सबै जनप्रतिनिधी र सरोकारवालाको सहभागितामा रणनीतिक योजना निमार्णको लागि मस्यौदा तयार पारिएको छ। मस्यौदालाई अध्ययन गरी आवश्यक काटछाट गरेर मुर्त रुप दिईने गाउँपालिका अध्यक्ष बोहराले बताए। ‘समाजमा दिनानु दिन बढ्दै गइरहेको बालविवाहलाई न्युनिकरण गर्न हामीले यो रणनीतीक योजना निमार्ण गर्न लागेका छौं। अछाममा पहिलो पटक हामीले गर्न लागेको यो कार्य अछामका सबै तहका लागि सिको गर्न लायक र उदाहरणीय हुनेछ।’ रणनीतीक योजना निमार्णपछि अछाम जिल्लामा बढ्दै गएको बालविवाहमा कमि आउने उनको विश्वास छ। उनले थपे बालविवाहको मुद्धामा कोहि एक व्यक्तिको पहलले मात्र न्युनिकरण गर्न नसकिने भन्दै सबै मिलेर यसलाई निर्मुल पार्न सकिने बताएका छन्। गाउँपालिकाले बालविवाह न्युनीकरणको लागि गाउँपालिकामा आउने सेवाग्राहीलाई लक्षित गर्दै बालविवाह सम्बन्धी परामर्श कक्षसमेत स्थापना गरिन लागेको जानकारी दिएका छन्।

राष्ट्रिय जनगणना २०६८ को तथ्यांकले अछाममा ११ वर्षकै उमेरमा बालविवाह हुने गरेको छ। तथ्यांक अनुसार ११ वर्ष मुनिका ५ सय ७७ जनाले बालविवाह गरेको देखिएको छ। तथ्यांक अनुसार बालक दुई सय १४ र बालिका तीन सय ६३ जनाले बालविवाह गरेका छन्। जनगणना अनुसार ११ देखि १४ वर्ष उमेर समुहका बालक दुई सय तीन र बालिका चार सय जना गरी छ सय तीन जनाले बालविवाह गरेका छन। १५ देखि २० वर्ष उमेर समुहका आठ सय २२ बालिका र आठ सय बालक गरी एक हजार छ सय २२ जनाले बालविवाह गरेका छन्। तथ्यांकअनुसार दुई हजार आठ सय दुई जनाले बालविवाह गरेका छन्। बालविवाह गर्नेमा गरिब, दलित र विपन्न परिवारका बालबालिका बढि रहेको तथ्यांकले देखाएको छ।

मेल्लेख गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष नरबहादुर साउँदले सामाजिक चेतनाको कमीले गर्दा समाजमा बालविवाह कायमै रहेको बताए। बालविवाहलाई कानुनले मान्यता नदिएपछि सानै उमेरमा विवाह गराइदिने चलन हराएपनि समाजमा लुकीछिपी घटना घटने गरेको उनले बताए। समाजमा बालविवाहको अवस्था डरलाग्दो रहेको भन्दै उनले यसको न्यूनिकरणका लागि सरकारी निकाय, संघसंस्था, बालबालिकाका अभिभावकलगायतले भूमिका निर्वाह गर्नुपर्ने बताए। विद्यालयमा नियमित नजाने कारणले पढाई कमजोर हुने, परीक्षामा असफल हुने, पारिवारीक बेमेल भएका परिवारमा मायाको खाँचो हुने, गरिबीबाट मुक्त हुने प्रयास र प्रजनन् स्वास्थ्यको सवालमा बालबालिकालाई अभिभावकले खुलेर कुराकानी नगर्ने कारणले बालविवाह हुने गरेको कानुन व्यवसायी बालाराम उपाध्याय बताउछन्। बालविवाह हुँदा शारीरिक र मानसिक असर पर्ने र शिक्षा लिने अवसरबाट बञ्चित हुनेसँगै सामाजिकीकरणमा पनि गम्भीर नकारात्मक असर पर्ने बताउँदै व्यवसायी उपाध्यायले भने, ‘गाउँवासी सबै दाजुभाई दिदिवहिनीहरु र जान्यमान्यको साथ भयो भने मात्र बालविवाहलाई निर्मुल पार्न सकिन्छ। यसको लागि हामी सबै एकजुट भएर सहकार्य गर्न जरुरी छ।’

कानुनमा बालविवाह गर्ने र गराउने भुमिकामा रहनेलाई जेल सजाय र जरिवानाको व्यवस्था भएपनि बालविवाहमा खासै न्यूनिकरण आउन सकेको छैन। नेपालको कानुनले २० वर्ष पूरा गरेपछि मात्र विवाहका लागि योग्य मानिएको भनिएपनि हाम्रो समाजमा अधिकांशहरुको विवाह ११ वर्ष नपुग्दै हुने गरेको छ। एक तथ्यांक अनुसार सुुदुरपश्चिम प्रदेशमा करिब ४० प्रतिशत विवाह बालविवाह हुने गरेको छ। बाल विवाहको मुख्य कारकतत्व गरिबी, अशिक्षा, घरेलु हिंसाका साथै धर्म कमाउन, सामाजिक प्रतिष्ठा कायम गर्न, मान्यजनको समान गर्न, छोरीको सुरक्षा गर्न, यौन चाहाना भएर तथा प्रविधीको दुरुपयोग जस्ता छन्।

बालविवाह गर्दा स्वास्थ्यमा नकरात्मक असरहरू पर्ने गर्दछन्। मेल्लेख स्वास्थ्य चौकीका इन्चार्ज अनिता खड्का १८ बर्ष नपुग्दै सुत्केरी हुँदा रक्तश्राव भई मर्ने सम्भावना ३ देखि ५ गुणा बढी हुने गरेको बताउँछन्। नेपालको मातृ मृत्युको प्रमुख कारण पनि यहि हो। यस्तो अवस्थामा सुत्केरी हुदा अत्याधिक रगत बग्ने, आङ खस्ने समस्या, योनीबाट पिसाब चुहिने, मुत्र थैली पाठेघर, मुत्रथैली र योनीमार्गबीचमा प्वाल पर्ने समस्या हुन्छ। उनका अनुसार बालविवाहका कारण मानसिक समस्या धेरै हुन्छन्। गर्भवती भएका कारण डिप्रेसन हुने र त्यसका कारण मृत्यु हुने संख्या धेरै छ।

प्रकाशित: १५ वैशाख २०७६ ०५:०४ आइतबार

बालविवाह प्रतिबद्धता गाउँपालिका अध्यक्ष