समाज

खोटाङमा एकैसाथ दुई सडक शिलान्यास

साप्सु खोला किनारमा सडक शिलान्यास गर्दै प्रदेशसभा सदस्य रामकुमार राईलगायत।

खोटाङ – खोटाङमा एकैसाथ दुई सडक स्तरोन्नति शिलान्यास गरिएको छ।

दिक्तेल–साप्सु खोला–मात्तिम–मानेभञ्ज्याङ–पानधारे सडक र कात्तिके–सोस्तुम–रतन्छा–बाँझेच्यानडाँडा–चखेवाभञ्ज्याङ सडक स्तरोन्नतिका लागि शिलान्यास गरिएको हो। साकेला गाउँपालिका–५ मात्तिमस्थित साप्सुखोला किनारमा शनिबार प्रदेशसभा सदस्य रामकुमार राईले सडक स्तरोन्ततिको काम शिलान्यास गरेका हुन्।

प्रदेश सरकार पूर्वाधार विकास कार्यालय उदयपुरको अनुदानमा आगामी असार १५ गतेसम्ममा पूरा गर्नेगरी निर्माण कम्पनी काष्ठमण्डप–आजाद जेभीले दुवै सडक स्तरोन्ततिका काम जिम्मा लिएको हो।

दिक्तेल–साप्सु खोला–मात्तिम–मानेभञ्ज्याङ–पानधारे सडक (२१ किलोमिटर) मध्ये हाल ७.५ किलोमिटर खण्ड स्तरोन्नति गर्नेगरी काम थालिएको हो। १ करोड ७९ लाख ४० हजारमा सो काम पूरा गर्ने गरी गत वैशाख २ गते सम्झौता गरिएको थियो।

यस्तै, कात्तिके–सोस्तुम–रतन्छा–बाँझेच्यानडाँडा–चखेवाभञ्ज्याङ (२२ किलोटिमर) मध्ये ७.५ किलोमिटर खण्ड काम गर्नेगरी काम थालिएको पूर्वाधार विकास कार्यालय उदयपुरका डीई जितेन्द्र कर्णले बताए। काष्ठमण्डप–आजाद जेभीले २ करोड २३ लाख १२ हजारमा काम पूरा गर्नेगरी सो सडक स्तरोन्नति ठेक्का लिएको हो।

गत वैशाख २ गते सम्झौता गरिएको सो सडक पनि आगामी असार १५ गतेसम्ममा पूरा गर्नुपर्ने सम्झौतामा उल्लेख छ। प्रदेशसभा सभासद राईकै पहलमा प्रदेश सरकारले दुवै सडकका लागि बजेट विनियोजन गरेको हो।

स्तरोन्नति गरिएका सडकले गाउँपालिका र मध्यपहाडी लोकमार्गबीचमा सहज पहुँच स्थापित हुने साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताए।

 

प्रकाशित: १४ वैशाख २०७६ १३:४१ शनिबार

सडक_शिलान्यास पूर्वाधार_विकास_कार्यालय दिक्तेल अनुदान