समाज

कक्षा १२ र ११ को परीक्षाको तयारी पूरा, नौ लाख ३६ हजार परीक्षार्थी

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ र कक्षा ११ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।

देशभर एकैसाथ १५ गते आइतबार बिहान ७ बजेदेखि शुरु हुने कक्षा १२ र वैशाख २९ गतेबाट शुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। कक्षा १२ को परीक्षामा चार लाख २८ हजार ५२ र कक्षा ११ को परीक्षामा पाँच लाख आठ हजार ४९४ परीक्षार्थी गरी कूल नौ लाख ३६ हजार ५४६ परीक्षार्थीको सहभागिता रहने बताउँदै उनले कक्षा १२ र कक्षा ११ को परीक्षामा चार लाख ४२ हजार, ९९७ छात्र र चार लाख, ९३ हजार ५४९ छात्राको सहभागिता रहने बताए।

आगामी २६ गते सम्पन्न हुने कक्षा १२ को परीक्षातर्फ साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहनेछ। यसैगरी वैशाख २९ गते शुरु भई जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहनेछ।

सबभन्दा कम मनाङ जिल्लाबाट कक्षा ११ को परीक्षामा ५१ र कक्षा १२ मा ५९ तथा सबैभन्दा धेरै काठमाडौँ जिल्लाबाट कक्षा ११ मा ७१ हजार ५२७ र कक्षा १२ मा ६२ हजार ५८८ परीक्षार्थी सहभागी हुँदैछन्। बोर्डले परीक्षाका लागि देशभर एक हजार १०७ परीक्षा केन्द्र निर्धारण गरेकामा सबभन्दा बढी परीक्षा केन्द्र काठमाडौँमा १२२ वटा र सबैभन्दा कम मनाङ/मुस्ताङमा एक/एक परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिए।

परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि परीक्षामा विशेष व्यवस्था गरिएको छ। कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको उनले जानकारी दिए। रासस

प्रकाशित: १४ वैशाख २०७६ ०६:५५ शनिबार

राष्ट्रिय_परीक्षा_बोर्ड परीक्षा_नियन्त्रण_कार्यालय कक्षा_१२ कक्षा_११ वार्षिक_परीक्षा