समाज

बञ्जीजम्प अन्तिम चरणमा

फाइल फाेटाे

बागलुङ– बागलुङको बलेवा र पर्वत सदरमुकाम कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भइरहेको बञ्जीजम्पको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ।

निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको पुलसहितको बञ्जीजम्पको ८० प्रतिशत काम सकिएको निर्माण कम्पनी ‘द क्लिफ’ प्रालिले जनाएको छ। आगामी साउनसम्ममा सञ्चालनमा ल्याउने गरी काम भइरहेको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए। पुलसहितको बञ्जीजम्प र बागलुङको बलेवा क्षेत्रमा रिसोर्ट निर्माणको कामसमेत भइरहेको छ। १६ करोड रुपैयाँ लगानी गरेर बञ्जीजम्प र रिर्सोट सञ्चालनमा ल्याउन लागिएको कार्कीले जानकारी दिए।

कालीगण्डकी नदीको सतहदेखि बञ्जीजम्पको उचाइ २२८ मिटर रहेको छ। हालसम्म विश्वमा बनेका बञ्जीजम्पमध्ये चीनले सन् २०१८ मा बनाएको बञ्जीजम्प विश्वकै सबैभन्दा बढी उचाइ भएको बञ्जीजम्प मानिन्छ। सिसाको पुलसहितको त्यस बञ्जीजम्पको उचाइ २६० मिटर छ। दोस्रोमा मकाउ टावरको उचाइ २३३ मिटर छ। 'साहसिक पर्यटकको गन्तव्य अब कालीगण्डकीमाथिको पुलसहितको बञ्जीजम्प हो', कार्कीले भने, 'पर्यटकलाई ध्यानमा राखेर बलेवा क्षेत्रमा रिर्सोटसमेत बनाएका छौँ।' कूल २२ रोपनी जग्गामा रिर्सोट फैलिएको छ। 'यस क्षेत्रको परिचय अग्ला झोलुङ्गे पुलका रुपमा बनिरहेको छ', कार्कीले भने, 'अब म यसलाई साहसिक पर्यटनको स्थल बनाउँछु।' रासस

प्रकाशित: १४ वैशाख २०७६ ०५:३८ शनिबार

बञ्जीजम्प बागलुङ कालीगण्डकी