समाज

नागरिककर्मी खड्का र ओली सम्मानित

सम्मानित नागरिककर्मी रुद्र खड्का र अजुर्न ओली

काठमाडौं - नागरिककर्मी रुद्र खड्का र अर्जुन ओली शुक्रबार बारबरा एडम्स खोजी पत्रकारिता सम्मानबाट सम्मानित भएका छन्। बारबरा फाउन्डेसनले हरेक वर्ष प्रदान गर्ने उक्त सम्मान यस वर्ष खड्का र ओलीले संयुक्त रूपमा पाएका हुन्। फाउन्डेसनले भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारलाई समाचारको गाम्भीर्यता, प्रस्तुति र प्रभावलाई आधार मानेर सम्मान गर्ने गर्छ।

खड्का र ओलीले बाँकेमा निर्माण भइरहेको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भएको आर्थिक अनियमितता सम्बन्धी खोजी समाचार लेखेका थिए। पुरस्कारको राशी एक लाख एक रुपैयाँ र प्रमाणपत्र रहेको छ। ३ नम्बर प्रदेशकी प्रमुख अनुराधा कोइरालाले सम्मान प्रदान गरेकी थिइन्। कोइरालाले समाजमा सदाचार स्थापना गर्न सबै एकजुट हुनुपर्ने बताइन्। सबैले प्रयास गर्ने हो भने सदाचार स्थापना गर्न कठिन नहुने उनको भनाइ छ।

खड्का र ओलीले सिक्टामा भएको आर्थिक अनियमिताबारे ५० भन्दा बढी समाचार श्रृंखला प्रकाशित गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गर्ने ठेकेदार कम्पनी सिटिसिई कालिका कन्स्ट्रक्सनका सञ्चालक तथा पूर्वमन्त्री विक्रम पाण्डे, ठेकेदार कम्पनिसम्बद्ध कर्मचारी, आयोजना प्रमुख, परामर्शदातासहित २१ जनाविरुद्ध विशेष अदालतमा आठ अर्ब ५९ करोड रुपैयाँ अनियमितताको मुद्दा दायर गरेको छ।

त्यस्तै सिक्टाकै शाखा नहर निर्माणमा लापरवाही गर्ने अर्को ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने निर्णय गरिएको छ। सिटिसिई कालिकाले सिक्टाको पश्चिमतर्फको ४५ किलोमिटर लामो मूल नहरमध्ये ४२ किलोमिटर निर्माण गरेको हो। जुन नहरबाट किसानको खेतमा पानी नपुग्दै परीक्षणको क्रममा भत्कने गरेको छ।

१२ वर्षअघि सुरु गरिएको सिक्टा समयमा सम्पन्न नहुँदा राज्यको लगानी समेत बढिरहेको छ। सिक्टामा हालसम्म १४ अर्ब ७० करोड रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ। समयमा काम गरेको भए हालसम्म किसानको खेतमा पानी पुग्ने थियो। आयोजनामा लागत पनि बढ्दैन्थ्यो। आर्थिक वर्ष २०७५÷७६ मा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त आयोजनामा निर्माणमा ढिलाइ हुँदा पछिल्लो प्रगति ५६ प्रतिशत छ। हाल सम्पन्न गर्ने लागत बढेर २५ अर्ब रुपैयाँ पुगेको छ। सम्पन्न गरिएको काम गुणस्तरीय छैन।

पुरस्कार वितरण कार्यक्रममा प्रमुख वक्ताको रूपमा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले सुशासनको आवश्यकतामा जोड दिए। समृद्धिका लागि सदाचार अनिवार्य चाहिने उल्लेख गर्दै पोखरेलले सदाचारका लागि पद्धति आवश्यक रहेको बताए। उनले मन्त्रिमण्डलबाट हुने निर्णयमा समेत भ्रष्टाचार हुने गरेको बताए। सदाचार व्यक्तिको आचरणमा भर पर्ने उनको भनाइ छ। फाउन्डेसनका महासचिव वरिष्ठ पत्रकार अखिलेश उपाध्यायले सम्मानका लागि विभिन्न मिडियाहाउसमा काम गर्ने ५३ जनाबाट आवेदन परेको जानकारी गराउँदै विभिन्न चरणको छनोटमा खड्का र ओलीको रिपोर्टलाई छनोट गरिएको बताए। उनले आगामी वर्षदेखि सम्मानको राशी वृद्धि गरी तीन लाख रुपैयाँ पु¥याइएको जानकारी दिए। त्यस्तै हालको प्रोत्साहन सम्मानको राशी पनि २५ हजार रुपैयाँबाट वृद्धि गरी एक लाख रुपैयाँ पु¥याउने निर्णय गरिएको उपाध्यायले जानकारी गराए।

यस वर्ष प्रोत्साहन सम्मान पत्रकार मकर श्रेष्ठले प्राप्त गरे। उनले संघीय संसद् सचिवालयमा भएको बेथिति र अनियमितता सम्बन्धी रिर्पोटिङ गरेका थिए। जुन रिपोर्ट कान्तिपुर दैनिकमा प्रकाशित भएको थियो। कार्यक्रममा फाउन्डेसनका अध्यक्ष डा. सन्दु्रक रुइत, उपाध्यक्ष डा. चन्द्रप्रसाद पोखरेल लगायतले बोलेका थिए। खोजी पत्रकारिता लेख्ने पत्रकार सम्मान छनोटका लागि वरिष्ठ पत्रकार अखिलेश उपाध्यायको संयोजकत्वमा निर्णायक समिति गठन गरिएको थियो। समितिमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी, वरिष्ठ पत्रकार कसमस विश्वकर्मा र पत्रकार सरद अधिकारी सदस्य सचिवको रूपमा थिए।

सन् १९३१ मा अमेरिकाको न्युयोर्कमा जन्मेकी बारबरा एडम्स ५५ वर्ष नेपालमा बसेकी थिइन्। उनी सन् १९६१ मा बेलायती महारानी एलिजाबेथको नेपालको राजकीय भ्रमणका बेला पत्रकारका रूपमा काठमाडौं आएकी थिइन्। उनको सन् २०१६ अप्रिल २२ मा निधन भएको थियो। उनको पहलमा सन् २०१४ देखि खोजी पत्रकारिता गर्ने पत्रकारलाई सम्मान गर्न थालिएको थियो।

प्रकाशित: १४ वैशाख २०७६ ०३:३४ शनिबार

नागरिककर्मी रुद्र_खड्का अर्जुन_ओली बारबरा_एडम्स_खोजी_पत्रकारिता