समाज

घुससहित दुईजना पक्राउ

वीरगन्ज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले दुईजनालाई पक्राउ गरेको छ। चालक अनुमतिपत्र बनाउन दलालमार्फत पैसाको लेनदेन हुने गरेको सूचना पाएर खटिएको टोलीले ‘चारो’ को रुपमा नगद दिएर रंगेहात राकेश रौनियार र सुनिल यादवलाई पक्राउ गरेको हो।

बिचौलियाले पैसा बुझेपछि यातायात व्यवस्था कार्यालयबाट सहजै लाइसेन्स बन्ने गरेको, नभए दुःख पाइने गरेको बढ्दो गुनासोबीच अख्तिारको टोलीले छापा मारे पनि दुईजना गैरकर्मचारीलाई मात्र समात्न सकेको हो। टोलीका एक सदस्यका अनुसार यादव र रौनियरले ‘एक्जाभेटर’ को चालक अनुमतिपत्र बनाउन ७० हजार रुपैयाँ मागेका थिए। यसमध्ये ३५ हजार रुपैयाँ सेवाग्राहीले अग्रिम भुक्तान गरिसकेका थिए। बाँकी रकम अख्तियारको टोलीले नै उपलब्ध गराएर दुईजनालाई पक्राउ गरेको हो।

अख्तियार टोलीका सदस्यले हजार दरका नोटको नम्बर अभिलेख राखी सेवाग्राहीलाई दिएर पठाएका थिए। नोटमा रसायन (केमिकल) लागेको थियो। यादव र रौनियारले पैसा लिए। लगत्तै पुगेको अख्तियार टोलीले पैसा बरामद गरी यादव र रौनियारको हात सेतो तरलमा डुबाउँदा रातो भएको थियो। नम्बर मिलान गर्दा पहिलेदेखि अख्तियार टोलीले अभिलेख गरिराखेकै नोट निस्कियो। टोलीले सवारी चालक अनुमतिपत्रका लागि भएको ट्रायल (प्रयोगात्मक जाँच) को सिसिटिभी फुटेज र प्रकाशित नतिजा पनि जाँच्ने भएको छ। यसबाट संस्थागत रुपमा कर्मचारीको संलग्नता खुल्ने बताइएको छ।

कार्यालयका निमित्त प्रमुख रामअश्रय रामले पैसा लिएर चालक अनुमतिपत्र बाँड्ने काम नभएको दाबी गरे। कार्यालयबाहिर कसैले कसैबाट पैसा लिएदिएको भए आफूहरुलाई त्यसको जानकारी नहुने उनले बताए। पक्राउ परेका यादव र रौनियारले ‘ड्राइभिङ लाइसेन्स’ का लागि नभई व्यक्तिगत लेनदेनमा पैसा लिएको बताए।

प्रकाशित: १४ वैशाख २०७६ ०३:२२ शनिबार

अख्तियार_दुरुपयोग_अनुसन्धान_आयोग घुस पक्राउ