समाज

वनमन्त्री बस्नेतद्वारा भूकम्प पीडितलाई घर हस्तान्तरण

काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मानव वन्यजन्तु द्वन्द्वले निम्त्याएको जटिलता अन्त्यका लागि सरकारले प्रभावकारी उपाय खोजी गरिरहेको बताएका छन्। 

मन्त्री बस्नेतले त्यसका लागि कानूनी, नीतिगत तथा संरचनागत परिवर्तन गर्न लागिएको बताए। वन्यजन्तुको संरक्षण गर्दा मानव हितलाई सर्वोपरि ठानेर काम गर्ने मन्त्रालयको नीति रहेको भन्दै उनले सोही अनुसार कार्यसम्पादन गर्न मातहतका निकायलाई निर्देशनसमेत दिए। ‘वन र वन्यजन्तुभन्दा पहिला मान्छेको संरक्षण गर्ने सरकारको दायित्व हो’, चौथो भूकम्प दिवसको अवसर पारेर दोलखाको बिगु गाउँपालिका–३ बुलुङमा भूकम्पपछि पुनःनिर्माण गरिएका घर हस्तान्तरण कार्यक्रममा बस्नेतले भने, ‘सरकार त्यसका लागि कानूनी, नीतिगत र संरचनागत सुधकारको काममा लागेको छ।’ उनले जनतालाई दुःख भयो भन्ने गुनासो नआउने गरी संरक्षणको काम गर्ने सरकारको नीति रहेको स्पष्ट गरे।

संरक्षण मात्रले  जनताको जीवनमा समृद्धि नल्याउने भन्दै उनले त्यसबाट प्राप्त लाभको समन्यायिक वितरण गर्न सरकार प्रतिबद्ध रहेको बताए। संरक्षणले जनतालाई लाभान्वित गर्न नसके त्यसको औचित्य नहुनेसमेत उनले स्पष्ट गरे। पछिल्लो समय वन क्षेत्रको संरक्षण प्रभावकारी भएसँगै बाँदर, बँदेलजस्ता वन्यजन्तुको संख्यामा वृद्धि भएकाले किसानहरुले कष्ट भोग्नुपरिरहेको विषयमा सरकार जानकार रहेको र त्यसको निराकरणका लागि कामसमेत सुरु गरिसकिएको जानकारी उनले दिए। 

कार्यक्रममा मन्त्री बस्नेतले कारितास नेपाल नामक गैह्रसरकारी संस्थाले सरकारसँगको सहकार्यमा निर्माण गरेको ७ सय ३ वटा घर सम्बन्धित घर धनीलाई हस्तान्तरण गरेका थिए। 

प्रकाशित: १३ वैशाख २०७६ १२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App