समाज

गण्डकी प्रदेशमा ४७ थान हतियार बुझाइए

पोखरा- गण्डकी प्रदेशमा इजाजत नलिएका र नवीकरण नगरिएका ४७ थान हतियार सम्बन्धित व्यक्तिले बुझाएका छन्।

यस प्रदेशका ११ जिल्लामध्ये छ जिल्लाबाट सो सङ्ख्याका हतियार सङ्कलन भएको हो। हतियार बुझाउने जिल्लामा सवैभन्दा बढी लमजुङ जिल्लाबाट १७ थान हतियार बुझाइएको छ भने कास्कीबाट १४, स्याङ्जाबाट आठ गोरखाबाट चार, बागलुङबाट तीन र तनहुँबाट एक थान हतियार बुझाइएको गण्डकी प्रहरी प्रदेशका प्रवक्ता गोविन्द पुरीले जानकारी दिए।

अन्य पाँच जिल्लाबाट हतियार बुझाउन कोही नआएको गण्डकी प्रहरी प्रदेश कार्यालय पोखराले जनाएको छ। प्रदेशका पर्वत, म्याग्दी, मनाङ, मुस्ताङ र नवलपरासी (पूर्व)का जिल्ला प्रहरी कार्यालयमा हतियार कसैले नबुझाएको देखिएको छ। गृह मन्त्रालयले २०७५ चैत १ गतेदेखि ३५ दिनभित्र त्यस्ता हतियार बुझाउन सूचना जारी गरेको थियो। रासस

प्रकाशित: १३ वैशाख २०७६ ०६:०४ शुक्रबार

हतियार सुरक्षा गण्डकी