समाज

यसरी ठडिए सिन्धुका गाउँ–बस्ती (फोटो फिचर)

सिन्धुपाल्चोक- २०७२ वैशाख १२ गते निम्तिएको बिनासकारी भूकम्पको बिहीबार चार वर्ष पूरा भएको छ। बढी प्रभावित १३ र कम प्रभावित १९ गरी ३२ जिल्लामध्ये सिन्धुपाल्चोक भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको जिल्ला हो। तीन हजार दुई सय ७२ को ज्यान लिएको भूकम्पले ९० प्रतिशतभन्दा बढी घर, संरचना ध्वस्त बनाएको थियो।

सबै गाउँ–बस्ती खण्डहरमा बदलिँदा जिल्ला झण्डै–झण्डै संरचनाविहिनको भूगोलमा बदलिएको थियो। जताततै खण्डहर र भग्नावशेषका गाउँ–बस्ती, आफन्त गुमाउनुको पीडा, चौतर्फी सत्यानास, विनास र लगातारका पराकम्पनले उत्पन्न गराएको त्रास, भोको पेटमा खुला आकाशमूनिको बास देख्दा लाग्थ्यो सजिलै सिन्धुपाल्चोक व्यूउँतन सम्भव छैन।

तर पीडितमा शोकलाई शक्तिमा बदल्ने जागरण पैदा हुँदा भूकम्पको चार वर्ष र पुनर्निर्माण अभियान थालनीको तीन वर्षमै सिन्धुपाल्चोक ठडिएको छ।

भनिन्छ, ध्वंसपछि पुनर्निर्माण हुन्छ। अर्थात, विपत्तिले विकास ल्याउँछ। त्यही विनासले डोहोर्‍याएको विकास सिन्धुपाल्चोकमा अहिले देख्न सकिन्छ। साना तथा मझौला आकारका चिटिक्क घर। रातो, निलो, हरियो जस्तापाता र घरको साजसज्जाले रंगिन गाउँ तथा बस्ती। टोलै पिच्छे मोटर पुग्ने सडक र खानेपानी धारा। घर–घरमा शौचालय अनि व्यवस्थित बिजुली बत्ती।

भूकम्पले तहसनहस बनाएको सिन्धुपाल्चोकको फेरिएको रुप हो यो। रंगिन बनेर ठडिएका बलिया बस्ती न्यूनतम सुविधासहितका आकर्षक सहरोन्मूख गाउँमा बदलिएका छन्। ठडिएका गाउँ–बस्ती बालमैत्री, अपांगमैत्री, वातावरणमैत्री र चट्याङरहित भूकम्पप्रतिरोधी संरचनामा रुपान्तरित भएका छन्। एक दर्जन एकीकृत नमूना बस्ती ठडिएका छन्। यो विपत्तिले डोहोर्‍याएको विकास हो।

भूकम्पको एक वर्षपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १२ गते सर्वाधिक क्षतिग्रस्त जिल्लाको चौताराबाट पुनर्निर्माण अभियानको थालनी गरेका थिए। त्यसयता जिल्लामा झण्डै ८० हजार घरको पुनर्निर्माण सम्पन्न भएको छ। योसँगै जिल्लाको पुनर्निर्माण अन्तिमतिर पुगेको छ।

 

भूकम्प पुर्निर्माण सिन्धुपाल्चोक