समाज

जसले हार्न जानेनन्

२०३८ साल। जुम्ला खलंगाको टुँडिखेल मैदान। तत्कालीन राजा वीरेन्द्र शाहको जन्मोेत्सवको अवसरमा आयोजित तीन किलोमिटर दौडमा १८ वर्षे ठिटो हरिबहादुर रोकाय सहभागी थिए।

प्रतिस्पर्धामा सहभागी सबैलाई उछिन्दै उनी विजेता बने। यहीँ दौड नै उनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाउने माध्यम बन्यो। २०२२ सालमा चन्दननाथ नगरपालिका–५ मा जन्मिएका रोकायले त्यसयता सयौं दौडमा भाग लिइसकेका छन्। ‘जहाँजहाँ प्रतिस्पर्धा गरेँ, त्यहाँबाट खाली हात फर्किनु परेको छैन,’ ५३ वर्षीय रोकायले भने, ‘दौड नै मेरो पहिचान बन्यो।’

चन्दननाथ हाई स्कुलमा पढ्दा तीनपटक प्रथम स्थान हासिल गरेका उनलाई लगातारको सफलताले दौड्न हौस्याइरह्यो। ‘प्रत्येक दौड प्रतियोगितामा प्रथम भएपछि दौडबाटै कीर्तिमानी कायम गर्नुपर्छ भन्ने आँट आयो,’ उनी भन्छन्, ‘त्यसपछि घरायसी काम होस् वा सार्वजनिक काम, जहा“सुकै दौडेर जान थाले।’ २०३९ सालमा काठमाडौंमा आयोजना गरिएको जुनियर च्याम्पियनसिप ५ हजार मिटर दौड हरिबहादुरका लागि पहिलो राष्ट्रिय प्रतियोगिता थियो। जसमा उनले चौथो स्थान हात पारे। २०४० सालमा पोखरामा पाँच किलोमिटर दौडमा चौथो भएका हरिबहादुर २०४१ सालमा दाङमा १ हजार ५ सय ५ हजार मिटर दौडमा पहिलो पदक हात पार्न सफल भए। २०४२ सालमा वीरगन्जमा भएको २६ औं नेसनल एथलेटिक्समा १० हजार मिटर दौडमा प्रथम भएका उनले दौड अभ्यासलाई झनै गति दिन थाले।

२०४४ सालमा पोखरामा आयोजना गरिएको राष्ट्रिय क्रसकन्टी १० किलोमिटरमा भाग लिएर दोस्रो भएका रोकायाले २०४५ मा कञ्चनपुरको महेन्द्रनगरमा आयोजित नेशनल एथलेटिक्स च्याम्पीयनअन्तर्गत १ हजार ५ सय मिटरमा पनि पहिलो स्थान हासिल गरे। २०४५ सालमा पोखरामा १२ किलोमिटर, २०४६ सालमा धरानमा १२ सय मिटर र २०४६ मा वीरगन्जमा  २८ औं नेसनल एथलेटिक्समा ५ हजार मिटरमा पनि प्रथम भए। १० हजार ३० मिटरको दौडले समेत उनलाई विजेता बनायो। लगातारको जीतले उनलाई राष्ट्रियस्तरको पहिचान दिलाइरहेको उनको भनाइ छ।

३१ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा लगातार २०४५, २०४६ र २०५३ मा जीत हात पार्न सफल भएका रोकायाले सर्वोत्कृष्ट खेलाडीका रुपमा सम्मानसमेत पाए। ‘त्यो सम्मान मेरा लागि कहिल्यै नबिर्सने क्षण बन्यो,’ त्यो बेलाको सफलता सम्झँदै उनी भन्छन्, ‘अहिलेसम्मको सफलताको जग नै तीनपटकको निरन्तरको जीत हो।’

निरन्तरको राष्ट्रिय सफलताले उनलाई अन्तर्राष्ट्रिय स्तरका खेलको बाटो खुल्यो। सन् १९८५ मा पहिलो पटक जर्कातामा ५ किलोमिटर दौडमा भाग लिएर उनले पाँचौ स्थान हासिल गरे। १९८६ मा बंगलादेशमा आयोजित दोस्रो साफ च्याम्पियनसीप प्रतियोगीतामा ५ किलोमिटरमा चौथो बनेका उनले १९८६ मा मस्कोमा दशौ एसियन गेममा १० किलोमिटरमा डिप्लोमा पाए। योसँगै उनले अन्तर्राष्ट्रिय  स्तरका २९ प्रतियोगिता खेले।

रोकायाले सन् १९९९ मा एभरेष्ट म्याराथन ४२ किलोमिटर १ सय ९५ मिटरमा ३ घन्टा ५६ मिनेट १० सेकेन्ड र २००० मा ३ घन्टा ५० मिनेट २३ सेकेन्डमा पार गर्दै विश्व रेकर्ड कायम गरेर गिनिज बुकमा नाम लेखाउन सफल बने। ‘सामान्य परिवारमा जन्मेर पनि दौडेरै संसार चिनाउने सपना साकार बन्यो,’ रोकाया आफ्नो सफलता सुनाउ“दै भने, ‘विदेशमै बस्नका लागि पनि अवसर आए तर, मलाई मेरै देशको मायाले तान्यो।’ नेपाल फर्किएपछि सुरुमा काठमाडौमा वायरिङको काम गरेरसमेत जीविका चलाए उनले। २०५२ सालमा राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सचिव केशव स्थापितले सहायक प्रशिक्षकको जागिर दिलाएपछि उनी जन्मभूमि फर्किएर खेलाडी उत्पादनमा लागेका छन्।

हरिबहादुरले जेठो छोरा हिक्मतलाई दौडिएकै कमाइले पाइलट बनाए। हिक्मतले अहिले तारा एयरको जहाज उडाउँछन्। कान्छो छोरा यज्ञ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा चिकित्सक छन्। दुई छोरा, दुई बुहारी, दुई नातिसहित उनको ८ जनाको परिवार संगोलमै बसिरहेको छ।

प्रकाशित: ११ वैशाख २०७६ ०८:११ बुधबार

हरिबहादुर_रोकाय धावक एथलेटिक्स नागरिक_नायक