समाज

आयोग घेरा हाल्नेलाई कारबाही गर्न निर्देशन

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगको नेपालगन्जस्थित कार्यालयमा घेरा हालेकोप्रति आपत्ति जनाउँदै त्यसमा संलग्नलाई कारबाही गर्न निर्देशन दिइएको छ। सरकारलाई मानवअधिकार, कानुनी शासन र न्यायिक निर्णयको सम्मान गर्न आग्रह गर्दै आयोगको सोमबार बसेको आकस्मिक बैठकले त्यस्तो निर्देशन दिएको हो। आयोगका सुरक्षा गार्डलाई धम्की र दबाब दिने प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहको कामकारबाही, व्यवहार सम्बन्धमा आवश्यक छानबिन गरी विभागीय कारबाहीको जानकारी गराउन प्रहरी महानिरीक्षकलाई निर्देशन दिने निर्णयसमेत गरिएको छ।

बाँके जिल्ला अदालतबाट विस्फोटक पदार्थसम्बन्धी मुद्दामा आइतबार दानबहादुर फडेरा साधारण तारेखमा रिहा भएका थिए। रिहा भएपछि पुनः गिरफ्तारीमा पर्न लागेको भन्दै फडेराका परिवार मानवअधिकार आयोगको कार्यालय नेपालगन्ज पुगेका थिए। प्रहरीले गिरफ्तारी गर्नेगरी फडेरालाई पछ्याउँदै आयोग परिसरमा घेरा हालिरहेको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘कार्यालय परिसरमा पुगी आयोगको प्रवेशद्वार खोल्न आयोगका सुरक्षा गार्डलाई धम्की र दबाब दिएको, प्रमुखलाई दबाब दिनेगरी भएको कार्यबाट आयोगको आफ्नो स्वतन्त्रता, स्वायत्तता र मर्यादामाथि ठाडो हस्तक्षेप भएको ठहर गरिएकोे छ,’ आयोगका सचिव वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आयोगको आकस्मिक बैठकले रिहा भएका फडेरालाई परिवारका सदस्यसँग जिम्मा लगाई बाँकेका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने निर्णय गरेको छ। फडेरा र उनको परिवारका सदस्यलाई मानसिकलगायत अन्य यातना नदिनसमेत आयोगले प्रहरीलाई निर्देशन दिने निर्णय गरेको छ। ‘आमनागरिकको मानवअधिकार रक्षा गरी कानुनी शासन कायम गर्दै अदालत आदेशको सम्मान, पालना गर्न आयोग सरकार र प्रहरीको गम्भीर ध्यानाकर्षण गराउँछ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: १० वैशाख २०७६ ०३:४१ मंगलबार

राष्ट्रिय_मानवअधिकार_आयोग कारबाही घेरा