समाज

विप्लव कार्यकर्तालाई तारेखमा छाड्न आदेश

काठमाडौं – काठमाडौं जिल्ला अदालतले नेकपा विप्लव समूहका एक कार्यकर्तालाई तारेखमा छाडी अनुसन्धान गर्न आदेश दिएको छ। न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले विप्लवका कार्यकर्ता भन्दै पक्राउ परेका अर्जुन गोतामेलाई पुर्पक्षका लागि तारेखमा राख्न आदेश दिएको हो।

‘मिसिलमा संलग्न प्रहरी प्रतिवेदन, प्रतिवादीको अनुसन्धान र अदालतमा भएको बयान, घटनास्थल मुचुल्का, मौकामा कागज गर्ने व्यक्तिहरूले गरेको कागज हेर्दा हाललाई अर्जुन गोतामेको सन्दर्भमा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुनेगरी हाललाई पुर्पक्षका लागि तारेखमा राख्नू,’ आदेशमा भनिएको छ। आदेशमा मुलुकी कार्यविधि संहिताको दफा ७९ बमोजिम निर्णय गरिएको उल्लेख छ।

‘गोतामेलाई कानुनविपरीत राज्य व्यवस्थाको विरुद्ध संगठित भई काम गर्दै आइरहेको विप्लव समूहमा क्रियाशील भई आपराधिक समुहको सहयोगीका रूपमा कार्य गर्दै आएको’ भन्दै मुद्दा दर्ता गरिएको थियो। ‘कसुर ठहर भए २५ वर्षसम्म कैद सजाय हुन सक्ने भन्दै अभियुक्तलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गरिपाऊँ,’ भन्ने सरकारी वकिलले बहस गरेका थिए। गोतामेले भने आफू कुनै आपराधिक समूहमा नलागेको बयान दिएका थिए।

प्रकाशित: १० वैशाख २०७६ ०१:४४ मंगलबार

अदालत विप्लव कार्यकर्ता आदेश