समाज

पाँच महिनामा १ सय ११ थान संकलन

रुकुम - रुकुम भन्नबित्तिकै अहिले पनि वितगको १० वर्षे सशस्त्र द्वन्द्व सम्झनामा आउने गर्दछ। तत्कालीन नेकपा माओवादीले द्वन्द्व थालेकै दिन रुकुममा पनि प्रहरी चौकीमाथि आक्रमण भएको थियो। युद्वले गर्दा यहाँका सयौं मानिस पीडित भए। द्वन्द्वकालमा जिल्लाको पूर्वी क्षेत्रले सबैभन्दा बढी क्षति बेहोर्नुपरेको थियो।

मगर खामभाषीहरूको बाक्लो बसोबास रहेको रुकुम (पूर्व) जिल्लामा प्रायः सबैका घरमा भरुवा बन्दुक हुने गर्दछ। यहाँ बच्चा जन्मँदा, विवाह, छेवरजस्ता सामाजिक कार्यमा बन्दुक पड्काउने चलन छ। त्यसकारण यहाँका प्रायः स्थानीयले घरघरमा बन्दुक राखेका हुन्छन्। तर पछिल्लो समय यहाँका द्वन्द्वप्रभावित विभिन्न गाउँबाट स्थानीय स्वयंले सरकारलाई हतियार बुझाउन थालेका छन्। तीनवटा मात्र स्थानीय तह रहेको यस जिल्लामा पछिल्लो पाँच महिनामा १ सय ११ थान हतियार बुझाइसकिएका छन्। समाजमा शान्तिसुरक्षा कायम राख्न आफूहरूको पनि भूमिका हुने भएकाले अवैध रूपमा राखिएका हतियार बुझाउने थालिएको स्थानीयको भनाइ छ।

यहाँ रहेको स्थानीय वन तथा वन्यजन्तु संरक्षण समितिले गाउँमा भएका हतियार (भरुवा बन्दुक) संकलन गरेर जिल्ला प्रशासन कार्यालयमा बुझाएको पुथा उत्तरगंगा गाउँपालिका–२ निवासी अमरधन पुनले बताए। गाउँमा हत्याहिंसा नहोस् र यहाँका जंगल तथा सिकार आरक्षमा रहेका वन्यजन्तुलाई संरक्षण गर्न आफूहरूले हतियार संकलन गरेर सरकारलाई बुझाएको उनको भनाइ छ। अझै पनि यहाँका गाउँलाई हेर्ने दृष्टिकोण उस्तै रहेको र त्यसमा परिवर्तन गराउन पनि आफूहरूसँग अवैध रूपमा रहेका हतियार बुझाएको पुनले दाबी गरे।

गत मंसिर १० गतेदेखि फागुन मसान्तसम्म ३३ थान र गत चैत १ गतेदखी वैशाख ५ गतेसम्म २३ थान गरेर ५६ थान हतियार स्थानीय आफैं जिल्ला प्रशासन कार्यालय रुकुमकोटमा पुगेर बुझाएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए। स्थानीयले बुझाएका ५६ थान हतियारमध्ये ५५ वटा बन्दुक प्रयोग भइरहेको अवस्थाका र एउटा बन्दुक प्रयोगविहीन अवस्थाका रहेको उनले बताए। यसअघि गत मंसिर ८ गते जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाका स्थानीयले ५५ थान हतियार (भरुवा बन्दुक) बुझाएका थिए। गाउँमा लुकाइछिपाइ राखिएका हतियार प्रशासनलाई बुझाउनुले जिल्लाको शान्तिसुरक्षामा ठूलो उपलब्धि भएको प्रजिअ शर्माको भनाइ छ।

आफ्नो गाउँलाई हतियारमुक्त बनाउन अभियान नै सञ्चालन गरेर सबैका घरघरमा भएका हतियार संकलन गरेर सरकारलाई बुझाएको पुथा उत्तरगंगा–४ निवासी धनीश पुनले सुनाए। सशस्त्र द्वन्द्वको समयमा प्रयोग भएका हतिरहरू समेत जंगलमा अहिले फेला पर्ने गरेको स्थानीयको भनाइ छ। तत्कालीन नेकपा माओवादीले लुकाइराखेको कतिपय हतियार स्थानीयले फेला पारेर आ–आफ्नै घरमा राखेको र अहिले बुझाउन थालेको उनको भनाइ छ। यहाँका नागरिकले राज्यलाई हतियार बुझाएर शान्तिसुरक्षामा निकै ठूलो सहयोग गरेको भन्दै प्रजिअ शर्माले धन्यवादसमेत दिए। जिल्लाका अन्य ठाउँमा पनि हतियार लुकाएर राखेको हुन सक्ने भन्दै उनले हतियार संकलन गर्ने अभियान नै सञ्चालन गर्ने बताए। स्थानीयले बुझाएका हतियारलाई अभिलेख बनाएर जिल्ला प्रहरी कार्यालयमा राखिने उनको भनाइ छ।

जिल्लाको पुथा उत्तरगंगा, भुमे र सिस्ने गाउँपालिकाका विभिन्न गाउँबाट हतियार संकलन गरेर स्थानीयले जिल्ला प्रशासनलाई बुझाएका हुन्। स्थानीयहरू आफैले गाउँमा रहेका हतियार संकलन गरेर प्रशासनलाई बुझाएको नेपालमै यो पहिलो घटना भएको प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ।
जिल्ला प्रशासन कार्यालयमा स्थानीयले बुझाएका हतियार। तस्बिर : लोकेन्द्र/रुकुम

प्रकाशित: ९ वैशाख २०७६ ०३:२७ सोमबार

रुकुम स्थानीय हतियार