समाज

सातौं दक्षिण एसिया क्षेत्रीय मानवअधिकार सम्मेलन सम्पन्न

काठमाडौं – सातौं दक्षिण एसिया क्षेत्रीय मानवअधिकार शिखर सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ। सम्मेलनमा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश, इन्डोनेसिया, ताइवान र अमेरिकाका झन्डै एक सय युवाहरुको सहभागी रहेको थियो।

दुई दिनसम्म चलेको सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकले मानवअधिकारको सवालमा सबै नागरिक सुसुचित हुनुपर्ने र यसको लागि आयोगले धेरै कार्यक्रम गर्दै आएको बताए। युवालाई मानवअधिकारका बारेमा सचेतना अभियान चाल्नुपर्नेमा उनको थियो। राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले युवाहरुलाई अझ मानवअधिकारको बारेमा शसक्तीकरण गर्नुपर्नेमा जोड दिए। उनले राज्यले युवालाई स्वदेशमा रोजगारीको व्यवस्था मिलाउनुपर्ने बताउँदै जबसम्म राज्यले युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न सक्दैन मुलुकको समृद्धि हुन नसक्ने उनले बताए।

सम्मेलनमा झन्डै दुई दशकदेखि मानवअधिकारको क्षेत्रमा कार्यरत युवा मानवअधिकारकर्मीलाई ह्युमन राइट्स हिरो अवार्ड २०१९ बाट सम्मान गरिएको थियो। सम्मेलनमा युवाहरुले मानवअधिकारका विविध समस्या र युवाअधिकारको बारेमा विशेष छलफल र कार्यपत्र प्रस्तुत गरेका थिए। सम्मेलनको मुख्य आयोजना युथ फर ह्युमन राइट्स इन्टरनेसनल र युथ फर ह्युमन राइट्स नेपालले गरको थियो। सम्मेलनमा पूर्वप्रहरी महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठ, युथ फर हयुमन राइट्स इन्टरनेसनलका प्रमुख डा. मेरी सटरवर्थ, कादम्बरी कलेजकी प्रदिप्ता कादम्बरी, युथ फर हयुमन राइट्स नेपालका राहुल केसी, ऋषि गौतम लगायतका अथितिहरुको उपस्थिति रहेको थियो।

अमेरिकामा स्थापना भएको यो युथ फर हयुमन राइट्स इन्टरनेसनलले विश्वभरी नै मानवअधिकारको विश्वव्यापी घोषणा पत्र र मानवअधिकार शिक्षालाई आफनो अभियानको रुपमा फैलाउदै आएको छ।

प्रकाशित: ९ वैशाख २०७६ ०३:१२ सोमबार

दक्षिण_एसिया मानवअधिकार_शिखर_सम्मेलन