समाज

वातवरणीय मूल्यांकन ५० दिनभित्रै

काठमाडौं - प्रारम्भिक वातावरणीय अध्ययन (आइइई) र वातावरणीय प्रभाव अध्ययन मूल्यांन (इआइए) लाई ५० दिनभित्र टुंग्याइने भएको छ। आइइई र इआइए बेलामा सम्पन्न हुन नसक्दा विकास निमार्णको कार्यले गति लिन नसकेका बेला वन मन्त्रालयले सो नयाँ नीति अख्तियार गरेको हो। सो नयाँ नीति बनाएपछि मन्त्रालय विकासविरोधीका रूपमा चित्रित नहुने विश्वास लिइएको छ।

वन तथा वातावरण मन्त्री शक्तिवहादुर बस्नेतका अनुसार विकासविरोधी मन्त्रालयको छवि सुधार गर्न तथा विकास निमार्णका कार्यमा अवरोध नहोस् भनेर सो नीति अख्तियार गर्न लागिएको हो। ‘अब आइइई र इआइएका कारण विकास आयोजनामा ढिलाइ हुनेछैन, बढीमा ५० दिन भित्र टुंग्याउने गरी नीति बनाएका छौं,’ मन्त्री बस्नेतले भने, ‘वन मन्त्रालयका कारण विकास निमार्णको कार्यमा अब अवरोध हुने छैन।’ २४ औं वन्यजन्तु सप्ताह समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले उक्त घोषणा गरेका हुन्।

वन मन्त्रालयका कारण विकासका काममा ढिलाइ वा अवरोध भएको भन्ने गुनासो आउन नदिने प्रतिबद्धतासमेत उक्त कार्यक्रममार्फत मन्त्री बस्नेतले जनाएका छन। केपी ओली नेतृत्वको सरकारले विकास र समृद्धिको अगुवाइ गरिरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले समृद्धिको यात्रामा आम जनता सरिक भएमा मात्रै उत्कृष्ट नतिजा आउने स्पष्ट पारे। विकास र समृद्धिको कार्यमा सरकार र प्रतिपक्षको भावना राख्न नहुनेमा जोड दिँदै मन्त्री बस्नेतले सरकारबाहिर रहेका दल र शक्तिलाई पनि सहकार्यका लागि अपिल गरे। ‘समृद्धि हामी सबैको साझा अजेन्डा हो, यो वा त्यो बहानामा फरक बाटो हिँड्न जरुरी छैन, यस महान कार्यमा सरकार र प्रतिपक्ष भन्ने धारणा राख्नुहुन्न,’ मन्त्री बस्नेतले भने। लामो समयदेखि केही निश्चित व्यक्ति थप धनी हुने र गरिब झन् गरिब हुने दुःखद् परिस्थितिको मुलुकले सामना गर्दै आएको उल्लेख गर्दै वर्तमान सरकारले त्यसलाई रोक्ने प्रयास गरिरहेको समेत उनले जानकारी दिएका छन्।

सरकारको पछिल्लो एक वर्षको काम कारबाहीका बारेमा प्रश्न उठिरहेकोप्रति जानकार रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले बितेको एक वर्षमा नयाँ संविधानअनुसारको ऐन÷कानुन बनाउनुका साथै समृद्धिको बलियो आधार खडा भएको जिकिर गरेका छन्। सोही क्रममा मन्त्री बस्नेतले रसुवाको गोसाइँकुण्ड क्षेत्रमा पाइने रेड पाण्डा संरक्षण गर्ने सके स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न सकिने भएकाले त्यस कार्यमा जनस्तरबाटै लाग्न स्थानीयसँग आग्रहसमेत गरेका छन्।

प्रकाशित: ९ वैशाख २०७६ ०२:५५ सोमबार

वातावरण मूल्यांकन वन_मन्त्रालय विकास