समाज

कर्मचारीलाई काम गर्न नदिए कारबाही हुने

काठमाडौं – समायोजन भएर खटिएका कर्मचारीलाई हाजिर नगराउने र जिम्मेवारी नदिए प्रशासकीय प्रमुख वा अधिकारी आफैं कारबाहीमा पर्ने भएका छन्। कर्मचारी समायोजनपछि विभिन्न निकायमा समायोजन भएर गएका कर्मचारीलाई हाजिर नगराएको र जिम्मेवारी नदिएको भन्दै कर्मचारी फर्कने क्रम सुरु भएपछि सरकारले त्यसरी हाजिर नगराउने र जिम्मेवारी नदिने कर्मचारीमाथि नै कारबाही गर्ने भएको हो।

कर्मचारी समायोजन निर्देशन तथा समन्वय समितिको बैठकले समायोजन भएर जाने कर्मचारीलाई हाजिर नगराउने र जिम्मेवारी नदिने कर्मचारीलाई कारबाही हुने भन्दै यथाशिघ्र हाजिर गराई जिम्मेवारी दिन आग्रह गरेको हो। ‘सम्बन्धित निकायको प्रशासकीय प्रमुख वा अधिकारीले कर्मचारी समायोजन ऐन २०७५ बमोजिम वा स्थानीय तहमा समायोजन हुन जाने कर्मचारीलाई हाजिर गराई जिम्मेवारी दिनुपर्नेछ भन्ने व्यवस्था रहेको छ,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सोही दफाको उपदफा ८ तथा ७ बमोजिम हाजिर नगराउने र जिम्मेवारी नदिने अधिकारीलाई प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ भन्ने व्यवस्था रहेको छ। अतः समायोजन भएका कर्मचारीलाई हाजिर गराउन हुन अनुरोध छ।’

स्थानीय तहमा खटिएका कर्मचारीमध्ये २० हजारभन्दा बढी हाजिर हुन अटेर गरिरेहका छन् भने केही कर्मचारीहरुलाई स्थानीय तहले हाजीर हुनै नदिई फर्काइदिएका छन्।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिकालगायतका देशका थुप्रै स्थानीय तहले यसअघि समायोजन भएर खटिएका कर्मचारीलाई हाजिर गर्न नदिई फर्काइएका थिए। यसरी स्थानीय तहमा समायोजन भएका कर्मचारी हाजिर हुनै नपाइ फर्कने क्रम सुरु भएपछि सरकारले हाजिर नगराउने प्रशासकीय प्रमुख वा अधिकारीलाई नै कारबाही गर्ने चेतावनी दिएको हो। सरकारले केन्द्रीकृत शासन व्यवस्थाअनुसार काम गरिरहेका १ लाख ३१ कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजनको घोषणा गरेको थियो। स्थानीय तहमा खटिएका कर्मचारीमध्ये २० हजारभन्दा बढी हाजिर हुन जान अटेर गरेका छन् भने केही कर्मचारीहरु स्थानीय तहले हाजीर हुनै नदिई फर्काइदिएका छन्।

प्रकाशित: ९ वैशाख २०७६ ०१:१७ सोमबार

कर्मचारी समायोजन समन्वय_समिति