समाज

भारतीय क्राइम चेकको गाडीमा गाँजा तस्करी

लागूऔषध गाँजा ओसारपसारमा संलग्न एक भारतीय र दुई नेपालीलाई सार्वजनिक गर्दै मकवानपुरका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहलगायत। तस्बिर: अशोकसुजन/नागरिक

मकवानपुर - भारतीय क्राइम चेक अर्गनाइजेसनको कारमा गाँजासहित एक भारतीय र दुई नेपाली पक्राउ परेका छन्। क्राइम चेक अर्गनाइजेसनका सचिवको लोगो र भारतीय झन्डासहितको कारमा गाँजासहित उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरिएको हो।

प्रहरीले ४८ किलो आठ सय ग्राम गाँजासहित कारचालक बिहार जिल्ला बैशाली ग्राम हसिकैवल–५ का ३२ वर्षीय अमरजित सिंहलाई नियन्त्रणमा लिएको जनाइएको छ। विशेष सूचनाका आधारमा कार रोकेर जाँच गर्दा कारको सिटमुनि फल्स बटम बनाई आठ पोकामा गाँजा फेला परेको मकवानपुरका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। उनका अनुसार प्रदेश ३ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिका–९ तीनताप्केबाट सिंह र कारलाई नियन्त्रणमा लिइएको थियो।

‘एम्बुलेन्स, ग्याँस तथा तेल टयांकर र सवारीसाधनमा लागूऔषध तस्कर पहिला पनि भएका थिए,’ उनले भने, ‘भारतीय क्राइम ब्रान्चका उच्चपदस्थ अधिकारीको लोगो प्रयोग गरेर लागूऔषध तस्करको घटना भने जिल्लामै पहिलो हो।’ कारचालक सिंहले तीनपटक भारतमा ओसारपसार गरेको पत्रकार सम्मेलनमै स्वीकार गरे। पूर्व–पश्चिम राजमार्गअन्तरगत मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको कारमा गाँजासहित पक्राउ परेका सिंहमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तस्कारीमा प्रयोग गरिएको कार प्रहरी कार्यालयमा राखिएको छ।

यसैबीच आठ किलो गाँजासहित बाराको प्रसौनी गाउँपालिका–५ का २२ वर्षीय पप्पु राय भरलाई प्रहरीले पक्राउ गरेको छ। हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको ना५ख ३९५२ नम्बरको बसलाई रोकेर जाँच गर्दा गाँजासहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यस्तै वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको ना१ज १७३९ नम्बरको माइक्रो बसमा जाँच गर्दा हेटौडा उपमहानगरपालिका–८ कमानेका २६ वर्षीय रूपक राई रातोमाटेबाट पक्राउ परेका छन्। उनका साथबाट लागूऔषध नाइट्रोभेट १० लेखेको चार पत्तामा ६० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ वैशाख २०७६ ००:५८ सोमबार

क्राइम गाँजा नेपाली पक्राउ