समाज

ताप्लेजुङमा आकस्मिक यातायात बन्द, तीर्थालुलाई समस्या

ताप्लेजुङ - यातायात व्यवसायी पक्राउको बिरोधमा आईतवार बिहानदेखि ताप्लेजुङबाट छुट्ने यातायातका सवारी साधन सञ्चलनमा रोक लगाईएको छ।

यातायात व्यवसायीहरुले बुकिङ काउन्टरहरुमार्फत यातायातका साधन सञ्चालन नगर्न भनेका कारण सवारी छुटाउन नसकिएको बुकिङ काउन्टरहरुले जनाएका छन्। आईतवार बिहानबाट यहाँबाट छुट्ने सवारी साधन छुटेका छैनन्। अचानकको बन्दले पाथीभरा मन्दिर जान आईपुगेका तीर्थालुलाई बढी समस्यामा पारेको छ। यातायात व्यवस्थापनका लागि गरिएको निर्णयको अपब्याख्या गर्दै बाटाबाटा गाडी रोक्ने र यात्रुलाई हैरानीम पार्ने काम गरेको भन्दै शनिवार अपरान्ह प्रहरीले यातायात व्यवसायी तथा होटल जराका प्रोपाइटर जंग सुनुवारलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख,डिएसपी सञ्जयसिंह थापाले जरा होटलका स्टाफ लगाएर यात्रुहरुलाई बाटोबाटामा रोकेको र अभद्र व्यवहार गरेपछि सुनुवारलाई नियन्त्रणमा लिएको जानकाररी दिए। उनले नानी च्यापेकी आमा समेतलाई यातायात मजदुरले गाडीबाट ओराल्ने र कहिले हिटी,कहिले हेलिप्याड,कहिले बहान्दे लगायतका स्थानमा गाडी रोक्ने काम भएपछि गैर कानुनी कार्य नियन्त्रणका लागि यसो गर्नु परेको बताए।

प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराई(तारा)को संयोजकत्वमा बसेको बैठकले यात्रुको जीवन जोखिमकोे अवस्थालाई मध्यनजर गर्दै बेलुकी ३ बजे पछि काउन्टरबाट टिकटै काटेर यहाँबाट लामो दुरीका गाडी नछुटाउने भने पनि आफुखुसीमा जाने र रिजर्भमा आएका र आफ्नै बन्दोबस्तीका सवारीमा यो नियम लागु नहुने जानकारी दिए। डिएसपी थापाले गलत ढंगबाट भएको कार्यका बिरुद्ध प्रशासन कडाईका साथ उभिने बताए। पक्राउ परेका सुनुवारको रिहाईको माग गर्दै शनिवार बेलुकी अबेर सम्म यातायात मजदुर तथा स्थानीय प्रहरी कार्यालय परिसरमा भेला भएका थिए।

प्रकाशित: ८ वैशाख २०७६ ०३:०० आइतबार

यातायात_व्यवसायी बिरोध यातायात_बन्द