समाज

‘गर्भवती महिलाका लागि घरमा झण्डा हातमा अन्डा’

छेमेन शेर्पाको घरमा ‘स्वास्थ्य संस्थामा प्रसूति, सुरक्षित मातृत्वको प्रत्याभूति’ अंकित झण्डा राखिँदै।

नुवाकोट - दुप्चेश्वर गाउँपालिकाले ‘गर्भवती महिलाका लागि घरमा झण्डा र हातमा अन्डा’ कार्यक्रम सुरु गरेको छ। सो कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँपालिकाले जनप्रतिनिधि र स्वास्थ्यकर्मीसँग बिहीबार र शुक्रबार अन्तत्र्रिmया गरेको छ। अन्तत्र्रिmयासँगै समुन्द्राटारकी ८ महिने गर्भवती छेमेन शेर्पाको घरमा झण्डा राखेर एक क्रेट अन्डा प्रदान गरी सो कार्यक्रमको सुरुवात गरिएको हो।

पालिकाभित्रका गर्भवती महिलाका लागि स्वास्थ्य सेवाको पहुँच र उपलब्धतामा वृद्धि गरी मातृशिशु स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यसहित सो कार्यक्रम सुरु गरिएको गाउँपालिकाले बताएको छ। गर्भवती महिलामैत्री यस कार्यक्रममार्फत गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरीको रूपमा घोषणा गर्ने कार्यलाई सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक विहारीशरण कुइँकेलले जानकारी दिए।

गाउँपालिकाभित्र कुनै महिला गर्भवती भए घरमा ‘स्वास्थ्य सस्थामा प्रसूति, सुरक्षित मातृत्वको प्रत्याभूति’ लेखिएको सुन्तला रङको झण्डा गर्भवती महिलाको घरमा राखिने बताइएको छ। त्यस्तै गर्भवती महिलालाई नेपाल सरकारको प्रोटोकल बमोजिम चार, छ, आठ र नौं गरी न्यूनतम चार पटकको स्वास्थ्य जाँच गराएबापत स्वास्थ्य संस्थाबाटै प्रत्येक पटकको जाँचमा एक क्रेट अन्डा उपलब्ध गराउने संयोजक कुइँकेलले बताए।

‘महिनावारी रोकिएपछि गर्भ रहेको छ÷छैन भनेर जाँच गराउन महिलाहरू स्वास्थ्य संस्थामा आउने गर्छन्। तर गर्भ रहेको थाहा पाएपछि सरकारी प्रोटोकलअनुसार नियमित गर्भ जाँच गराउन आउनेको संख्या भने न्यून छ,’ कुइँकेलले भने, ‘गाउँपालिका पूर्ण संस्थागत सुत्केरी गराउने अभियानमा लागिरहेको छ।’ अभियानलाई पूर्णता दिन झण्डा र अन्डाको कार्यक्रम ल्याइएको उनले बताए। उनले भने, ‘झण्डाले गर्भवती महिलाको घर पहिचानसँगै स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन गएको छ÷छैन भनी बुझ्न सजिलो हुन्छ र आमा तथा पेटमा हुर्कंदै गएको बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउन अन्डा हितकारी हुन्छ।’

दुप्चेश्वर गाउँपालिका भौगोलिक रूपमा विकट भएकाले गर्भवती तथा मातृशिशु स्वास्थ्य र पोषण सेवाको दृष्टिले चुनौतीपूर्ण रहेको छ। अझै पनि २० वर्ष नपुगी विवाह गर्ने र गर्भवती हुने, गर्भवती भएको कुरा परिवार, स्वास्थ्य स्वंसेविका, स्वास्थ्य कर्मीलाई नभन्ने र अन्त्यमा सुत्केरी पनि घरमै गराउने प्रचलन व्याप्त रहेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए। ‘गाउँमा सुत्केरी हुन नसकेर महिला छट्पटिरहेकी हुन्छन्। स्वास्थ्य संस्थासम्म पु¥याउन एम्बुलेन्स आउन सक्ने भौतिक साधन छैन। यसले गर्दा पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउन चुनौती छ,’ तामाङले भने, ‘गर्भ जाँच गराउन स्वास्थ्य संस्था जाने वातावरण हामीले बनाउन सक्यौं भने त्यस परिवारले गर्भवती महिलाको स्वास्थ्य स्थितिबारे बारम्बार बुझिरहन्छ। स्वास्थ्य अवस्था जटिल भएमा सुत्केरी गराउँदाको पूर्वतयारी गर्न सक्छन्। जसले गर्दा आमा र बच्चाको स्वास्थ्य राम्रो बनाउन सक्छौं भनेर प्रोत्साहन कार्यक्रम ल्याएका हौं।’

यस कार्यक्रमलाई सफल बनाउन सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्य र पोषणको क्षेत्रमा काम गर्दै आएको सुआहारासँग गाउँपालिकाले सहकार्य गरिरहेको छ। स्थानीय कुखुरापालक किसानद्वारा उत्पादित अन्डालाई प्राथमिकता दिई गर्भवती महिलाको हातसम्म प-याउने लक्ष्य राखिएको छ।

गाउँपालिकाभित्र सम्भावित गर्भवतीको संख्या पाँच सय ९८ जना रहेको आँकलन गरिएको छ। प्रत्येक गर्भवती महिलालाई एक सय २० वटा अन्डा (चारपटक गर्भजाँच गराउँदा ३० वटाका दरले) प्रदान गर्दा १० लाख ७६ हजार चार सय रुपैयाँ लाग्ने बताइएको छ। चालू आवको तीन महिना मात्र बाँकी रहेकाले पोषणका लागि विनियोजित रकम गर्भवती महिलाका लागि घरमा झण्डा र हातमा अन्डा कार्यक्रममा खर्च गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक कुइँकेलले बताए। यस आवको अन्त्यमा कार्यक्रमको मूल्यांकन गरी अर्को वर्षबाट कार्यक्रमलाई गाउँसभाबाटै निर्णय गराई योजनामा समावेश गरिने गाउँपालिकाले जनाएको छ।

प्रकाशित: ८ वैशाख २०७६ ०१:५८ आइतबार

गर्भवती झण्डा अन्डा