समाज

चार वर्ष बित्यो, न छोरीले इन्साफ पाइन्, न तलाक

बाँके हिरमिनियास्थित अहिरापुर गाउँमा रहेको रिहानाका माइती

नेपालगन्ज -  रिहाना शेख केही वर्षदेखि बाँकेको हिरमिनियास्थित अहिरापुरमा रहेको माइतीघरमा बस्दै आएकी छन्। 
उनी यतिवेला न्याय खोज्न भन्दै काठमाडौं पुगेकी छन्। न्याय खोज्न काठमाडौं गएकी रिहाना उतै बसेल मजदुरी गर्न थालेकी छन्। 

उनका पति फरिद शेख भारतमा दाेस्रो बिहे गरेर बसेका छन्। करिब चार वर्षअघि पत्नी रिहानालाई छाडेर उनी भागेका थिए। रिहाना र शेखको सम्बन्धविच्छेद भएको छैन। 

न्याय र तलाक (सम्बन्धविच्छेद) दुवै नपाउँदा उनी मानसिक पीडा खेप्न बाध्य छिन्। मुस्लिम धर्ममा पतिले ‘तलाक’ नदिदाँसम्म सम्बन्धविच्छेद भएको मानिँदैन। सम्बन्धविच्छेद हुन पतिले तीन पटक ‘तलाक’ भन्नुपर्छ। त्यो अहिलेसम्म भएको छैन। 

‘मेरो शरीरमा आगो लगाउने अपराधी(पति)अहिलेसम्म भारतमै लुकेर बसिरहेको छ, प्रहरीले उसलाई पक्राउ गरेन, मैले इन्साफ (न्याय) पनि पाइनँ, ऊ बिहे गरेर खुसी भएर बसेको छ, तर मेरो जिन्दगीचाहिँ बर्बाद बनायो,’ २५ वर्षीया रिहानाले नागरिकसँग टेलिफोनमा भनिन्।

दाइजोमा मोटरसाइकल र भैंसी नल्याएको निहुँमा करिब ४ वर्षअघि रिहानाको शरीरमा बाँके राप्तीपारि लक्ष्मणपुर निवासी फरिदले मट्टितेल छर्केर आगो लगाएका थिए। शरीर जलेका कारण गर्भमा रहेको शिशु नै गुमाइन् रिहानाले।बिहेको ६ महिनादेखि पति फरिद, सासू र ससुराले दाइजोको निहुँमा रिहानामाथि हिंसा गर्न थालेका थिए।

शरीरमा आगो लगाएर पति, सासू र ससुरा फरार भए। माइतीले उद्धार गरे। नेपालगन्ज र काठमाडौंका अस्पतालमा लामो समयसम्म उपचार गरेपछि उनको स्वास्थ्य त ठीक भयो। तर जीवनभर उनले मानसिक पीडा भने बोकिरहिन्। 

दुई वर्षदेखि काठमाडौं बस्दै रिहानाले दैनिक ज्याला मजदुरी गरेर ज्यान पालिरहेकी छन्। 

‘सिलाई कटाईको काम दुई÷तीन महिना जति गरें, त्यसलाई अगाडि बढाउन सकिनँ, अहिले ज्याला मजदुरीको काम गर्छु,’ उनले भनिन्। माइतीको आर्थिक अवस्था कमजोर भएका कारण सधैं त्यहाँ बसेर सम्भव नहुने रिहानाको बुझाइ छ। उनले थपिन्, ‘माइतीको आर्थिक अवस्था कमजोर छ, भाइबहिनी सानै छन्, आफैले मजदुरी गरेर पेट पालेकी छु।’ 

आफूलाई घर परिवारले जलाएर घाइते हुँदा पत्रिकाले धेरै समाचार लेखेको र संघ, संस्थाले उपचारमा सहयोग गरे पनि अहिले कसैले वास्ता नगरेको उनको दुखेसो छ। 

‘त्यत्रो मिडियाले समाचार लेखे, संघ संस्थाले पनि उपचारमा सहयोग गरे, तर मैले न्याय पाइनँ, अहिले आफ्नै जिन्दगी धिक्कार्छु,’ रिहानाले दुःख पोखिन्। 

अझै पनि पूर्ण रुपमा निको भएकी छैनन् रिहाना। ‘आगोले जलेको दायाँ खुट्टाको घाउ निको त भयो। जलेर मासु जोडिएको ठाउँलाई सर्जरी गर्नुपर्नेछ’, उनी भावुक हुँदै भनिन्। 

रिहानाका बुवा समिम शेख मजदुरी गर्छन्, भने आमा नसिरुल घरमै बस्छिन्। परिवार ठूलो भएका कारण खर्च चलाउन हम्मे–हम्मे पर्छ। परिवारकी जेठी छोरी हुन्, रिहाना। २२ वर्षकी माइली बहिनी हसिनाको बिहे भइसक्यो। रिहानाका २० वर्षका भाइ अरवाज, १८ वर्षीया बहिनी सकिना, १६ वर्षका भाइ समीर, १४ वर्से अमिन, १२ वर्षीया बहिनी रुविना र ५ बर्से भाइ सादिक घरमै छन्।

गरिबीका कारण दाइजो दिन नसक्दा जेठी छोरी रिहानालाई परिवारले दिएको यातना सम्झिँदा अहिले पनि मन दुख्ने आमा नसिरुल बताउँछिन्। ‘ज्वाइँ भागेको छ,’ उनले भनिन्, ‘छोरीले इन्साफ त पाइन, तलाक पनि पाएकी छैन।’ तलाक नपाउँदासम्म छोरीको विवाह अर्कैसँग गरिदिन नमिल्ने बाध्यता रहेको उनले सुनाइन्। फरार फरिदले तलाक दिएको भए रिहानालाई उमेर छँदै राम्रो ज्वाइँ खोजेर बिहे गरिदिने माइतीको इच्छा छ। 

 

प्रकाशित: ७ वैशाख २०७६ ११:२१ शनिबार

तलाक इन्साफ मानसिक_पीडा घरेलु_हिंसा