समाज

कालिगण्डकीमा र्‍याफ्टिङ महोत्सव

पाल्पा– कालीगण्डकी नदीमा र्‍याफ्टिङ महोत्सव गरिएको छ। पाल्पा र स्याङ्जाको उत्तरवाहिनी क्षेत्रबाट शुक्रबार सुरु भएको र्‍याफ्टीङ महोत्सव शनिबार पुट्टारघाटसम्म पुगेर सकिँदैछ। 

कालीगण्डकी नदीको तल्लो क्षेत्र पाल्पा, स्याङ्गजा, तनहुँ नवलपुर क्षेत्रमा नियमित र्‍याफ्टिङ्ग सञ्चालनका लागि महोत्सव आयोजना गरिएको हो। रामपुर नगरपालिकाको अग्रसरतामा पाल्पाको रम्भा गाउँपालिका तनहुँको घिरिङ्ग गाउँपालिका र स्याङ्जाको चापाकोट नगरपालिकाले संयुक्त रुपमा र्‍याफ्टिङ्ग महोत्सव आयोजना गरिएको हो। गण्डकी प्रदेश र प्रदेश ५ को बिचमा बहने कालीगण्डकी नदीमा र्‍याफ्टिङ्ग महोत्सवको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले शुक्रबार पाल्पाको रम्भा गाउँपालिकाको उत्तरवाहिनी क्षेत्रमा उद्घाटन गरेका हुन्। उनले कालीगण्डकी नदी धार्मिक, सांस्कृतिक तथा पर्यापर्यटनको हिसाबले महत्वपूर्ण रहेको बताए। उनी भन्छन्, ‘नेपालमै धार्मिक रुपमा महत्व बोकेको शालिग्राम शिला प्राप्त गर्न सकिने कालीगण्डकीमा पारिवारिक रुपमा र्‍याफ्टिङ्ग गर्न सकिने प्रशस्त सम्भावना छ। यसले दुई प्रदेशलाई जोड्ने काम पनि गर्दछ।’

कालीगण्डकी नदीको राम्दीदेखि देवघाटसम्म नियमित र्‍याफ्टिङ चलाउन कर्णाली र्‍याफ्टिङ एण्ड एड्भेन्चरका विज्ञको टोली ३ खण्डमा परीक्षण गरेर महोत्सव नै आयोजना गरिएको हो। शुक्रबार यस क्षेत्रका झण्डै १ सय २० जनाले कालीगण्डकीमा र्‍याफ्टिङ्ग गरेर रामपुरको भुजात सिद्धबाबामा पुगेका छन्। धार्मिक, ऐतिहासिक तथा पर्यापर्यटकीय महत्वको कालीगण्डकी नदीसँग पर्यटनलाई जोड्दै पर्यटक भित्र्याउन महोत्सव आयोजना गरिएको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले बताए। ‘हामी कालीगण्डकीलाई प्राकृतिक रुपमै सदुपयोग गरेर मनोरञ्जनसँगै पर्यटकीय गन्तव्यको महत्वपूर्ण स्थान बनाउन लागिरहेका छौं’, उनले भने, ‘नियमित रुपमा कालीगण्डकीमा याटङ्ग सञ्चालन गर्ने गरि नेपाल पर्यटन बोर्डसँग समन्वय भैरहेको छ।’ रामपुर नगरप्रमुख थापाले नियमित र्‍याटिङ्ग सञ्चालन गरि आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिने सम्भावना देखेर यस क्षेत्रका स्थानीय तहहरुसँग समन्वय गरि र्‍याटिङ्ग सञ्चालन गर्न महोत्सव गरिएको बताए। 

करिब ३ घण्टा ३० मिनेटको लामो समय जलयात्रामा सहभागीहरु धेरै जसो यति लामो समय जलयात्रामा सहभागी भएका थिए। स–सानामा नदीमा काठको डुंगा चढेको सम्झँदै प्रदेश सभा सदस्य नारायणप्रसाद आचार्यले पहिलो पटक नदीवोटमा जलयात्राको अनुभव लिएको बताए। उनले भने, ‘आनन्द लिन पर्यटकलाई अन्त जान पर्दैन, पर्यटक भित्याउन अरु सोचिराख्नु भन्दा संभावनालाई कार्यान्वयमा बदल्नुपर्ने रहेछ।’

धार्मिक कालीगण्डकी उपत्यका हुँदै बगेकी कालीगण्डकी नदीमा धार्मिक पर्यटकलाई जलयात्राको भरपुर आनन्द दिन र्‍याफ्टिङ सञ्चालन गरिएको पूर्व सचिव तथा कालीगण्डकी उपत्यका विकास समिति अध्यक्ष शान्ताबहादुर श्रेष्ठले बताए। उनी भन्छन्, ‘सनातन धर्मसंग जोडिएको धार्मिक पुण्य प्राप्त गर्न नदी र नदी किनारमा रहेका शक्तिपीठ हेर्न सक्छौ यसबाट आनन्द र पुण्यप्राप्तको दोहोरो फाइदा लिऔं। कोही नेपाली घुम्न बाहिर जान नपर्ने रहेछ।’ कर्णाली र्‍याफ्टिङ एण्ड एड्भेन्चरका सञ्चालक देवराज जैशीले भने, ‘साहसिक यात्रा जलयात्राका लागि कालीगण्डकी उपयुक्त छ। नदी किनारका विभिन्न स्थानमा क्यामफायरदेखि बिभिन्न रमाइलो लिन सकिने प्रशस्त सम्भावना छ।’ 

प्रकाशित: ६ वैशाख २०७६ १५:४४ शुक्रबार

र्‍याफ्टिङ कालिगण्डकी_नदी