समाज

गन्जला पास सहज बनाउन अध्ययन

रसुवा - जिल्लाको पर्यटकीय क्षेत्र क्यान्जिन हुँदै सिन्धुपाल्चोकको हेलम्बु जाने गन्जला पासमा आवतजावत सहज बनाउन अध्ययन सुरु गरिने भएको छ। चालू आर्थिक वर्षभित्रै अध्ययनको काम पूरा गरिनेछ। नेपाली सेनामार्फत सो काम अघि बढाउन समन्वय भइरहेको प्रदेश ३ अन्तर्गतको पर्यटन विकास आयोजनाका प्रमुख राजु क्षेत्रीले बताए।

‘पासको अध्ययन गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘आउँदो असार मसान्तसम्म अध्ययन सकिनेछ।’ यसका लागि प्रदेशले दुई करोड बजेट विनियोजन गरेको छ। पासलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन ५० करोड रुपैयाँ लाग्ने अनुमान छ। पहिलो चरणमा अध्ययन गरिने र अध्ययनपछि अवस्था हेरेर अप्ठ्यारो ठाउँमा डोरी टाँग्ने, रड राख्नेलगायत काम गरिने प्रमुख क्षेत्रीले बताए। बहुवर्षीय योजनामा राखिएको र पहिलो चरणमा वारपार गर्न सकिनेगरी अस्थायी किसिमको संचरना निर्माण गर्ने लक्ष्य रहेको उनले जानकारी दिए। ‘अध्ययन सकिए चालू आर्थिक वर्षबाटै काम थाल्ने योजना छ,’ उनले भने। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ। डिपिआरअनुसार डेड अर्बभन्दा बढी लाग्ने देखिएको छ। सोअनुसार काम गर्न नसकिने आयोजनाले जनाएको छ। सिन्धुपाल्चोकदेखि रसुवाको सीमाक्षेत्रसम्म काम भइरहेको छ। यो पास करिब ४० किलोमिटर रहेको छ।

यस क्षेत्रमा बाह्रै महिना हिउँ जम्ने भएकाले काम गर्न सहज नहुने होटल व्यवसायी निसान गजुरेलले बताए। भूकम्पका कारण पहिरोले क्षति गरेपछि गन्जला पास गर्न सकिएको छैन। रसुवाको क्यान्जिन उपत्यकाबाट तीन दिनको यात्रा गरेपछि हेलम्बु पुगिन्छ। गन्जला पास पार गर्न चाहनेले खाना र बासको व्यवस्थापन आफैंले गर्नुपर्ने हुन्छ। गन्जला पास पाँच हजार दुई सय मिटर उचाइमा पर्छ। लाङटाङ जाने एक हजार पर्यटकमध्ये १५ जना गन्जला पास गर्ने होटल व्यावसायी गजुरेलले बताए। गन्जला पास गर्दा समूहमा जानुपर्छ। जोखिम पूर्ण यात्रा भएकाले एक्लै जान नहुने पर्यटन व्यवसायी बताउँछन्।

प्रदेश ३ सरकारले रसुवाको पर्यटनको विकास र प्रवद्र्धनका लागि विभिन्न योजना बनाएको छ। धुन्चे–गोसाइँकुण्ड केबलकारको सम्भाव्यता अध्ययन, सोमदाङमा पर्यटकीय हिल स्टेसन स्थापना, पर्यटकीय सूचना केन्द्र स्थापना, वन्यजन्तु सूचना केन्द्र स्थापना, कोसेली घर स्थापना र तातोपानी संरक्षण र पूर्वाधार विकासलगायत योजना बनाइएको छ।

प्रकाशित: ६ वैशाख २०७६ ०३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App