समाज

परिवार नियोजनका साधनबाट टाढै छन् मुगुवासी

मुगु– मुगुको पूर्वीकरान क्षेत्रका लामा समुदायले धर्मविपरीत हुने भन्दै  परिवार नियोजन गर्न डराउने गरेका छन्।  मुगुम कार्मारोङ गाउँपालिकामा लामा समुदाको बाहुल्यता छ। त्यस क्षेत्रमा बसोबास गर्ने अधिकांश पुरुषहरूले स्थायी बन्ध्याकरण गरेका छैनन्।

मुगुम कार्मारोङ गाउँपालिकामा रहेका ९ वडामध्ये ८ वडामा लामा समुदायको बसोबास रहेको छ। त्यस क्षेत्रमा बसोबास गर्ने लामा समुदायमा स्थायी बन्ध्याकरण गर्ने पुरुषको संख्या शून्य छ।

कुल देवता रिसाउने  भन्दै परिवार नियोजन गर्न तयार नभएका स्थानीय बताउँछन्। परिवार नियोजन गरे नियमित काम गर्न असजिलो हुने तथा स्थायी बन्ध्याकरण गरे पाप लाग्ने कारण बन्ध्याकरण नगरेको  मुगुम कार्मारोङ्ग गाउँपालिका ६ का कार्मा छिरिङ लामाले बताए। 

अस्थायी साधन पनि प्रयोग गर्नु हुँदैन भन्ने अन्धविश्वास अझै छ। महिलाका लागि पनि धेरै परिवार नियोजनका साधन भए पनि यहाँका महिलाहरू डिपो सुई मात्रै प्रयोग गर्छन्। पुरुषहरूले घर बाहिर गएर व्यापार गर्नुपर्र्ने र वर्षभरि परिवार पाल्न कडा परिश्रम गर्नुपर्ने भएकाले पनि यस्तो अवस्था देखिएको गाउँ कार्यपालिका सदस्य आङ्गमु लामाले बताइन्।  

अस्थायी परिवार नियोजनका साधनमध्ये पनि महिलाले तीन महिने डिपो सुई लगाउने चलन बढीनै रहेको लामा बताउँछिन्।  ‘भगवानले बनाएको नियम हामीले तोड्न मिल्दैन। फेरि हाम्रो धर्ममा स्थायी परिवार नियोजन गरेको व्यक्तिबाट भएको पूजाबाट भगवान बुद्घ खुसी नहुने मान्यता छ’, स्थानीय नाग्मेल लामाले भने। 

यता मुगुम कामारोङ्ग गाउँपालिका स्वास्थ्य संयोजक सिङदल बुढाका अनुसार स्थायी बन्ध्याकरण गर्न लामा समुदायका महिला पुरुष स्वास्थ्य संस्थामा आएको तथ्यांक नै छैन।  थोरै मात्र महिलाहरूले भने अस्थायी परिवार नियोजनका साधन डिपो प्रयोग गर्ने गरेका छन्।

उनका अनुसार पुरुषहरू भने परिवार नियोजन गर्न स्यास्थ्य संस्थासम्म आइपग्दैनन्। अशिक्षा जनतेतनाको अभावले यस क्षेत्रमा बसोबास गर्ने समुदायले  परिवार नियोजन गर्न नमानेको उनको भनाइ छ।

‘केही पुरुषहरू जिल्ला बाहिर गएर परिवार नियोजन गर्ने गरेको भए पनि समाजमा अपहेलित हुने डरले खुल्दैनन’, उनले भने। यो समुदायमा जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने गाउँपालिकाको योजना रहेको गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए। 

 

प्रकाशित: ४ वैशाख २०७६ १०:२० बुधबार

परिवार_नियाेजन