समाज

‘स्थानीय पहिचान जोगाउन स्थानीय पाठ्यक्रम’

भक्तपुर– भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको कला–संस्कृति, भूगोल, इतिहास, सम्पदा, खेलकुद आदि विषयबारे नयाँ पुस्तालाई जानकारी प्रदान गर्न स्थानीय पाठ्यक्रम बनाएको बताएका छन्।

नगरपालिकाको आयोजनामा मंगलबार शिक्षा ऐन २०७४ बमोजिम नगर क्षेत्रभित्रका सामुदायिक एवं संस्थागत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूबीच गरिएको अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले स्थानीय पाठ्यक्रमले स्थानीयस्तरमा रहेका विविध जानकारी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने विश्वास व्यक्त गरे। २१औं शताब्दीको लागि योग्य र प्रतिस्पर्धी विद्यार्थी तयार गर्न विद्यालय र सञ्चालक समितिबीचको समन्वय राम्रो हुनुपर्ने विचार व्यक्त गर्दै उनले गुणस्तरीय शिक्षाले मात्र देश विकास हुने बताए।

युवा पुस्तामा व्यवहारिक ज्ञानको कमी रहेको औंल्याउँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राख्दै शिक्षाका लागि बढी लगानी गरिरहेको बताए। भक्तपुर नगरभित्रका सामुदायिक र निजी विद्यालयका शिक्षक–शिक्षिकाहरूका लागि मन्टेश्वरी तालिम, विषयगत तालिम सञ्चालन गरी शिक्षाको स्तर उकास्न र गुणस्तर बढाउन नगरपालिकाले प्रयास गरिरहेको उनले बताए।

भक्तपुर नगरपालिका–७ का वडाध्यक्ष उकेश कवांले भक्तपुरलाई नमुना शैक्षिक गन्तव्यस्थल बनाउन सबैले आआफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताउँदै विज्ञान र प्रविधिसँग जोडिएको शिक्षामा जोड दिनुपर्ने बताए। भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले शिक्षा क्षेत्रको विकासमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले विद्यालय शिक्षा आर्जन गर्ने स्थल भएको बताए। शिक्षा सामाजिक परिवर्तन र जीविकोपार्जनका निम्ति उपयोगी हुनुपर्ने उनको भनाइ थियो। नगर शिक्षा समितिका प्रमुख कृष्णप्रसाद कर्माचार्यले शिक्षा ऐन २०७४ बारे प्रस्तुति दिएका थिए।

प्रकाशित: ४ वैशाख २०७६ ०५:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App