समाज

हुम्लाबासी भन्छन्– पाँच वर्षदेखि पुलको पिलर हेरेर बसेका छौं

जुम्ला– पाँच वर्ष बिति सक्दा पनि सिँजा गाउँपालिका – २ रनुखानास्थित हिमा नदी माथिको पक्की पुल निर्माण हुन सकेको छैन। अहिलेसम्म रनुखाना गाउँतिरको एउटा पिलर मात्रै बनाइएको छ।

त्योभन्दा अघि निर्माण कार्य बढ्न सकेको छैन।  आर्थिक वर्ष २०६९/०७० मा  चार करोड २५ लाख रुपैयाँको लागतमा पुल निर्माणको लागि ठेक्क सम्झौता भएको थियो। २०७० देखि पुल निर्माणको काम सुरु भयो। पहिलो वर्ष एउटा पिलर गाड्नका लागि खाल्डो खन्नमै बित्यो। दोस्रो बर्षमा एकापट्टीको पिलर गाडियो। रनुखाना गाउँका विष्णुभक्त शर्मा पुल निर्माण भएर सवारीमा आवतजावत गर्ने जनचाहना अधुरै रहेको बताउँछन्।  

‘तीन वर्षदेखि पुल निर्माण कार्य ठप्प छ’, उनले भने, ‘पहिला बनेको पिलर जीर्ण बनिसकेको छ। एउटा पिलर हेरेरै चित्त बुझाउँदै आइराखेका छौँ।’ स्थानीयले पुल निर्माण कार्य सकाउनको लागि पटक–पटक माग गर्दै आइराखेका छन्। पुल निर्माणको लागि पहल गरिदिन माग गर्दै जनप्रतिनिधिको टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा समेत पुगेको थियो। मन्त्रालयले अहिलेसम्म पुल निर्माणका लागि ताकेता लगाउन नसकेको सिँजा २ का वडाध्यक्ष नवीन शर्माले बताए।

उनका अनुसार पुल निर्माणका लागि ल्याइएका दुई सय बोरा सिमेन्ट प्रयोगबिनै खेर गएको छ। गिट्टी, बालुवा पनि अलपत्र भएको उनले बताए।मजदुरले पहिला पिलर हाल्दाको ज्याला अहिलेसम्म पाएका छैनन्। जुम्ला र बाजुरा जिल्लालाई लक्षित गर्दै यो पुलको काम सुरु भएको थियो। पुल निर्माणको ठेक्का कालिकोटका व्रह्मजंग शाहीले लिएका थिए। उनी अहिले फरार छन्। 

ठेकेदारलाई सम्पर्कमा ल्याएर स्थानीय कामदारको ज्याला उपलब्ध गराउनको लागि स्थानीयले माग गरेका छन्।  ठेकेदारले रनुखाना गाउँमा मात्रै झण्डै ३५ लाख रुपैया तिर्नु छ। हिमा नदीमा पुल बनाउन सुरु गर्दा सिचाइँ कुला भत्किएको थियो।

पुल नबनेपछि सिचाइँ कुलो पनि बनाउन सकिएको छैन। जसका कारण सिँजा–२ रनुखाना गाउँको पाँच सय रोपनी खेत बाँझै छन्। स्थानीय धनबहादुर सार्कीले भने,‘पुल बन्ने भएपछि सिचाइँ कुलो भत्काउन दिइएको थियो। पुल बन्छ भनेर सिचाइँ कुलो माया मार्यौँ, अहिले न पुल बन्यो न त सिँचाइ गर्ने कुलो रह्यो।’ 

 

प्रकाशित: २ वैशाख २०७६ ०७:३४ सोमबार

सिँजा_गाउँपालिका पुल_निर्माण