समाज

हुरीबाट बारामा २ हजार बढी घरमा क्षति

बारा - चैत १७ गते २७ जनाको ज्यान जानेगरी आएको हावाहुरीबाट बारामा दुई हजार चार सय ९३ घरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। जिल्लाका आठवटा स्थानीय तहमा प्रभाव पारेको हावाहुरीमा पाँच सय ३० जना घाइते र १६ हजार चार सय ४९ जना प्रभावित भएको बताइएको छ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत मुरारी कार्कीले तथ्यांक संकलन गर्ने कार्यमा खटेका जनशक्तिहरूले तयार गरेको विवरणमा हावाहुरीका कारण २३ करोड ४४ लाख मूल्यबराबरका दुई हजार चार सय ९३ घरमा क्षति पुगेको बताइएको छ। क्षति घएका घरमध्ये दुई सय ९३ वटा पक्की, चार सय ८६ वटा अर्धपक्की र एक हजार सात सय १४ वटा कच्ची घर रहेको कार्कीले बताए। ती घरमा क्षति भएपछि १६ हजार चार सय ४९ जना प्रभावित भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

हावाहुरी गएको दुई हप्ताभन्दा बढी समयपछि जिल्ला प्रशासन कार्यालय बाराले तयार गराएको विवरणमा भन्दा बढीको भौतिक संरचनाहरू क्षति भएको दाबी स्थानीय तहका प्रमुखहरूले गरेका छन्। फेटा गाउँपालिका–६ पुरैनियामा १६ वटा पक्की, २९ वटा अर्धपक्की र ७४ वटा कच्ची गरी एक सय १९ वटा घरमा क्षति पुगेको र जसबाट एक करोड ६३ लाखको क्षति भएको विवरणमा देखाइए पनि विवरणमा देखाइएको भन्दा बढी क्षति भएको गाउँपालिका अध्यक्ष अमिरीलाल साहले बताएका छन्।

क्षतिको मूल्यांकन कम गरिएको भन्दै जनप्रतिनिधिको असन्तुष्टि

तयार गरिएको विवरणमा क्षति पुगेका घरहरूको संख्या लगभग ठीक मूल्यांकन भने कम गरिएकाले त्यसलाई सच्याउनुपर्ने माग उनले गरे। हावाहुरीमा परी पुरैनियामा सबैभन्दा बढी १० जनाले ज्यान गुमाएका थिए। बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले भौतिक संरचनाको क्षतिको मूल्यांकन इन्जिनियरहरूले नभई काठमाडाैँबाट विवरण तयार गर्न आएको टोलीले गरेको उल्लेख गरे। भत्केको भौतिक संरचनाहरूको मूल्यांकनसहितको विवरण वीरगन्जस्थित सहरी कार्यालयबाट खटिएका प्राविधिहरूले गरिरहेको र उनीहरूले गर्ने मूल्यांकनमा भौतिक संरचनाको रकम बढ्न सक्ने प्रजिअ पौडेलले बताए।

३८ करोडको बालीनाली क्षति
हावाहुरीले बाराका आठ स्थानीय तहमा करोडौं रुपैयाँबराबराको बालीनाली नोक्सान गरेको विवरणमा उल्लेख छ। कृषि क्षेत्रमा क्षतिको विवरण तयार गरेको कृषि ज्ञान केन्द्र बाराले गहुँ, मकै, मुसुरो, तरकारी र फलफूलका बोट गरी ३८ करोड २४ लाख रुपैयाँको क्षति भएको जनाएको छ। ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले एक हजार चार सय ५६ हेक्टरमा लगाएको गहुँबालीमा ६ करोड ५६ लाखको क्षति गरेको बताएका छन्। पाँच सय ११ हेक्टर क्षेत्रफलमा लगाइएको मकैबालीमा चार करोड ८८ लाख, एक हजार ९१ हेक्टर क्षेत्रफलमा लगाइएको तरकारीमा एक करोड ९१ लाख, चार सय २२ हेक्टर क्षेत्रफलमा लगाइएको मुसुरोमा एक करोड २४ लाख र दुई करोड ४१ हेक्टर क्षेत्रफलमा लगाइएको फलफूल (आँप) मा २३ करोड ६१ लाख गरी यी पाँच क्षेत्रमा त्यति क्षति भएको प्रमुख यादवले बताए।

फेटा–१ को भलुही भरबलिया, ६ को पुरैनिया, कलैया उपमहागनरपालिका–१८ को मनगढवा, १२ को धर्मनगर, १३ को फुलबरिया, सुवर्ण गाउँपालिका–४ को हर्दिया, ८ को पसरामपुर, ५ को औरहिया, प्रसौनी गाउँपालिका–४ को खुटवामा, ६ को भलुही चोकभन्दा उत्तर, महागढीमाई नगरपालिका–७ को तेलगाई, देवताल गाउँपालिका–७ को रामपुर्वा, पचरौता नगरपालिका–७ को बेनौली, २ को बैरिया र परवानीपुर गाउँपालिका–४ को शिवपुर, रामटोल र बिर्ताटोलमा गरी हावाहुरीले कृषि क्षेत्रमा बढी क्षति गरेको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ।

प्रकाशित: १ वैशाख २०७६ ०३:३५ आइतबार

हावाहुरी क्षति