समाज

घरमै धारा जाेडिएपछि गजुरीवासी भन्छन् - 'जीवन नै फेरिएजस्ताे भयाे'

१. गजुरी गाउँपालिकास्थित श्यामैडाँडा खानेपानी आयोजना अन्र्तगत गाउँमा खानेपानी बितरणका लागि बनाइएको रिजर्भ ट्याङकी

धादिङ - एक वर्षअघिसम्म श्यामेडाँडाकी सविना चेपाङ डेढ घण्टा तल कुवामा पानी लिन झर्थिन्, त्यो पनि मध्यरातमा।

पढाइ छुट्ने डरले सबैभन्दा पहिले कुवामा पुग्थिन् र पानी भरेर ल्याउँथिन्। तर, अहिले अवस्था फेरिएको छ। पढाइ छुट्ला र मध्यारातमा उठेर ओरोलो झर्नुपर्ने कुनै चिन्ता छैन उनलाई।

धादिङ गजुरी गाउँपालिकास्थित श्यामैडाँडावासीले घरघरमा धारा पाएका छन्। घरैमा धारा जोडिएपछि संगीताको खुसीको सीमै छैन। चेपाङ समुदायको बाहुल्य रहेको गजुरी गाउँपालिका ४, ६ र ७ नम्बर वडाका बासिन्दामा अहिले खुसियाली छाएको छ। 

वर्षौंदेखि खानेपानी अभाव झेल्दै आइरहेका उक्त बस्तीमा भूकम्पपछि भएका कुवामा पनि खानेपानी सुक्दै गएका थिए। गाउँको पँधेरामा पानी आउन छाडेपछि तरकारी खेती गर्न, गाई वस्तुलाई खुवाउन त परै जाओस् राम्रोसँग कपडा धुन र भान्सामा प्रयोग गर्नसमेत मुस्किल थियो गजुरीवासीलाई। तर अहिले प्रत्येकको घरमा खानेपानी आएको छ। घरमै पानी आएपछि गाउँ नै परिवर्तन भएको वडासदस्य समेत रहेकी संगीता चेपाङले बताइन्। 

‘पहिले एक गाग्री पानी लिन मध्य रातमा कुवा पुग्नुपथ्र्यो, अहिले घरघरमा धारामा पानी आउँछ, पुराना दिन सम्झँदै चेपाङले भनिन्, ‘अहिले आँगनमै पाइपबाट पानी झर्दा सपना जस्तै लाग्छ।’

गाउँवासीले खानेपानीका लागि भोग्नु परेका पुराना दिन सम्झँदा अहिले पनि अत्यास लाग्ने गरेको उनले सुनाइन्। ‘गाउँमा पानीको संकट हुँदा असहाय, अशक्त र सुत्केरी महिला तथा बिरामीका लागि खानेपानी पाउनै मुस्किल हुन्थ्यो’, उनले भनिन्।

श्यामैडाँडा खानेपानी आयोजनाबाट यहाँका ३ सय २६ परिवार लाभान्वित भएका छन्

पानीकै अभावमा हिउँदमा उजाड देखिने करेसाबारीहरुमा अहिले हरिया सागपात तथा तरकारीहरु देख्न पाइन्छ। मौसम अनुसारका तरकारी लगाएर उब्जनी गर्न थालेका छन्। खान, लुगा धुन तथा सरसफाइबाट बचेको पानी करेसाबारीमा लगाउने गर्छन्। गाँउका घर–घरै धारा भएकोले पहिले घण्टौं लगाएर पानी बोक्ने समयमा अन्य आर्थिक उपार्जनका कामहरुमा लगाउन थालेका छन्। बालबच्चाहरुको सरसफाइमा पनि ध्यान दिन थालेका छन् भने नियमित विद्यालय पनि जाने गरेका छन्। 

पानीको अभाव खेप्दै आइरहेकी गजुरी गाउँपालिकाकी शान्ता अधिकारीलाई पनि अहिले सहज भएको छ। श्यामैडाँडा खानेपानी आयोजनामार्फत घरमै पानी आएपछि सजिलो भएको उनले बताइन्।

‘घरभन्दा तल आधा घण्टा टाढा रहेको मुहानमा पालो कुरेर डोकोमा पानी बोक्ने गरेकी थिएँ’, उनले भनिन्, ‘यसरी घरघरमा धारा बनेर पानीको उपभोग गर्न पाईन्छ भनेर सोचेको नै थिइन।’ उनले करेसाबारीमा बन्दा, मुलालगायत तरकारी पनि लगाएकी छन्। 

गाउँदेखि १० किलोमिटर टाढा रहेको भिरकटेरीको मुहान बाट ल्याइएको खानेपानीले श्यामेडाँडा, रिमालटार, पुकुन, गेदे, तिलाहरा, बगैँचा, नयाँटार, काजीटोल, थरीटोल, सिमपानी, बाईवाङ चपरे लगायतका गाउँका स्थानीय लाभान्वित भएका छन्। चेपाङहरुको खाद्य अधिकार, खानेपानी माग्न सहजीकरण, पूरा गर्नुपर्ने प्रक्रियाको विषयमा खाद्य अधिकारी जिल्ला संजाल, विभिन्न संघसंस्थाहरुले पनि लामो समयदेखि पैरवी गरिरहेको थियो। अहिले यहाँ समस्या समाधान भएको छ। 

खानेपानीको चरम संकट हुन थालेपछि अक्सफाम नेपालको पूर्णिमा परियोजनाअन्तर्गत स्थानीय साझेदार संस्था प्रयास नेपालले खानेपानीको प्रबन्ध मिलाएको छ। गाउँ नजिकै श्यामेडाँडा खानेपानी आयोजना निर्माण गरेर ३ सय २६ घरका करिब २ हजार स्थानीयलाई खानेपानीको जोहो गरिदिएका छन्।

कुल १ करोड ९४ लाख ७९ हजार १७ रुपैयाँ लागत रहेको उक्त आयोजनाबाट चेपाङ समुदायसँगै ३० अन्य घर पनि लाभान्वित भएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिए। खानेपानीको दिगोपनाका लागि वडा कार्यालय तथा गाउँपालिकासँग सम्झौतासमेत गरिएको उनले बताए। 

 

प्रकाशित: ३० चैत्र २०७५ १२:१६ शनिबार

गजुरीवासी खानेपानी श्यामैडाँडा_खानेपानी_आयोजना