समाज

कालाजार रोग नियन्त्रणका लागि अभियान

रामपुर - लामखुट्टे तथा भुसुनाको टोकाइबाट लाग्ने कालाजार रोग उन्मूलनका लागि पाल्पामा भुसुना नियन्त्रण अभियान सुरु भएको छ।

जनस्वास्थ्य तथा सरुवा रोग अनुसन्धान केन्द्र र रोग नियन्त्रण महाशाखा काठमाडौँले कालाजार रोग सार्ने भुसुनाका बारेमा अध्ययन अनुसन्धान गरी त्यसलाई नियन्त्रण गर्ने अभियान चलाएको हो। टोलीले पाल्पाको भुवनपोखरी, मस्याम, सिलुवा, गोठादी, अर्गली, कचल, दर्लमडाँडा, खानीछाप, पिपलडाँडा तथा फोक्सिङकोटलगायतका क्षेत्रमा गएको असार महीनादेखि नै अध्ययन अनुसन्धान गरिरहेको छ। भुसुना सक्रिय रहने गर्मीको समयमा चार पटकसम्म अध्ययन गरिएको छ।

दिउँसो उज्यालोको समयमा लुक्ने र रातको समयमा देखापर्ने भुसुनाले मानिसको रगत खाने भएकाले रातिको समयमा नै विद्युतीय धरापमा पारेर भुसुनाको नमूना परीक्षण गरिनेछ। सङ्कलित भुसुना कालाजार सार्ने परजिवीबाट सङ्क्रमित छ कि छैन भनेर परीक्षण गर्न इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँ पठाइने अनुसन्धान अधिकृत विवेककुमार सिंहले बताए। उनले जमिनको सतहदेखि पाँच फिटभन्दा अग्लो स्थानमा जान नसक्ने भएकाले घरको माथिल्लो तलामा जान नसक्ने समेत बताए। नमूना सङ्कलन गर्न बिरामीको घरलाई केन्द्र मानी १०० मिटर वरपर चर्पी, गोठ, खोर, तथा भुसुना हुनसक्ने स्थानमा विद्युतीय धराप राखिन्छ।

कालाजार सार्ने स्याण्डफलाई भुसुनाको पोथी भुसुनाले बिरामीलाई टोकेर निरोगी व्यक्तिलाई टोकेमा कालाजार सर्ने विशेषज्ञको भनाइ छ। नेपालका १८ जिल्लालाई कालाजार प्रभावित जिल्ला मानिने गर्छ। कालाजार रोग सार्ने भुसुना विभिन्न सवारीसाधनको माध्यमबाट पाइप, पराल, किराना पसलका समान, ढुवानी गर्दा एक ठाउँबाट अर्को ठाउँमा पुग्ने भएकाले व्यापारिक केन्द्र तराईको बुटवलसँग जोडिएकाले पाल्पामा यसको संक्रमण हुन नदिन अनुसन्धान गरिएको टोलीले जनाएको छ। कालाजार रोग लागेका बिरामीमा दुई हप्ताभन्दा लामो समय ज्वरो आउने, पेटको बाँया भाग फुल्ने, सङ्क्रमित भई छाती दुख्ने, जिउ गल्ने, कमजोर हुँदै जाने र शरीर कालो हुने लक्षण देखिन्छ।

प्रकाशित: ३० चैत्र २०७५ ०७:०५ शनिबार

कालाजार_रोग लामखुट्टे