समाज

गर्मी बढेसँगै कैदीबन्दी बिरामी हुने क्रम बढ्दो

फाइल फोटो

गोपालप्रसाद बराल
बर्दिवास - बढ्दो गर्मीसँगै महोत्तरी कारागारमा कैदीबन्दी बिरामी हुने क्रम ह्वात्तै बढेको छ। क्षमताभन्दा बढी कैदीबन्दी रहेको महोत्तरीको जलेश्वरस्थित कारागारमा पछिल्लोपटक गर्मी बढेसँगै बिरामीको सङ्ख्या ह्वात्तै बढेको हो। कारागारमा  दम्मा (श्वासप्रश्वास), रुघाखोकी, ज्वरो, निमोनिया र लुतोलगायत रोगका बिरामी ह्वात्तै बढेको कारागार प्रशासनले जनाएको छ ।

न्यायिक निकायले थेग्नै नसक्ने गरी कैदीबन्दी पठाइदिने गरेपछि उनीहरुको बसाइ व्यवस्थापन गर्न गाह्रो भएको र योसँगै बिरामी हुने क्रम बढेकाले चुनौती थपिएको कारागार प्रशासनले जनाएको छ। अहिले दिनहुँ नियमित उपचार लिनेकोे सङ्ख्या १०० को हाराहारीमा रहेको कारागारका निमित्त प्रमुख (जेलर) समेत रहेका वरिष्ठ स्वास्थ्यकर्मी प्रदीपकुमार साहले बताए। कुल १३५ कैदीबन्दी राख्न सक्ने क्षमताको यो कारागारमा अहिले तेब्बरभन्दा बढी सङ्ख्याका कैदीबन्दी भएपछि उनीहरुको बसाइकै अप्ठ्यारोले बिरामी हुने क्रम बढेको निमित्त कारागार प्रमुख साहको भनाइ छ।

कारागारमा पुरुष र महिलाका लागि दुई छुट्टाछुट्टै कक्ष छन्। अहिले महिलाकक्षमा दुई आश्रित बालबालिकासहित ४६ र पुरुषकक्षमा ४१९ पुरुष गरी कुल ४६५ कैदीबन्दी छन्। यसअघि ५१२ सम्म पुगेको यो सङ्ख्या कैदीलाई पछिल्लो चार महीनाभित्र क्रमशः अन्य कारागारमा सरुवा गरेपछि केही घटे पनि कैदीबन्दीको बसाइ अझै सहज नभएको कारागारका चौकीदार श्रीनारायण महतोले बताए।

कारागारमा ठाउँ अभावसँगै सीमित शौचालय र धारा मात्र हुँँदा दिसापिसाब गर्न, नुहाउन र लुगा धुन घण्टौँ पालो कुर्नुपर्ने एवं  सुत्नबस्न का लागि समेत ठाउँको अभाव हुँदा आफूहरुलाई निकै गाह्रो भइरहेको कैदीबन्दीको गुनासो छ। नियमित सरसफाइ गर्न नपाइएर नापेर दिएको चार हात जमीनमा खाँदिएर बस्नसुत्न पर्दा आफूहरुमध्ये धेरैलाई लुतो भएको पुरुषकक्षका एक कैदीले बताएका छन्। पछिल्लोपटक श्वासप्रश्वास, निमोनिया र चर्मरोगका बिरामीको उपचार राम्रो नहुँदा आपूmहरुलाई बिरामी बनाउन नै कारागार ल्याइएको लाग्न थालेको पुरुष कक्षका एक थुनुवाको गुनासो छ।  

कैदीबन्दीका लागि जाडो र गर्मीयाममा मौसमअनुसारका दुईपटक लुगा दिइने कानूनी व्यवस्था भए पनि यहाँ कहिल्यै ठिक समयमा यो सुविधा नपाइएको कैदीबन्दीको भनाइ छ। कारागार प्रशासनले कैदीबन्दीको यो गुनासो स्वीकार गरेको छ। “कारागारमा कैदीबन्दीका लागि आउने मौसमअनुसारका कपडा आइपुग्न ढिलाइ हुँदा ठिक समयमा बाँड्न सकिएको छैन”, निमित्त कारागार प्रमुख साहले भने, “उपचार रकम कैदीबन्दीको सङ्ख्याअनुसार समयमा प्राप्त नहुँदा औषधोपचारमा समेत समस्या हुने गरेको छ।”
 कारागारको महिलाकक्षमा एक÷एक धारा र शौचालय मात्र छ। यस कक्षमा अहिले ४६ कैदीबन्दी छन्। त्यसैगरी पुरुषकक्षमा चार÷चार धारा र शौचालय मात्र प्रयोगमा छन्। यस कक्षमा अहिले कैदीबन्दीको सङ्ख्या ४१९ छ।  शौचालय र धारा पर्याप्त नहुँदा  दिसापिसाब र न्वाइध्वाइ गर्न घण्टौँ पालो कुर्नुपर्ने समस्याले नै बिरामी बढ्ने गरेका पुरुषकक्षका एक पाका कैदीले गुनासो गर्नुभयो। घाउखटिरा र लुतोले धेरैजसो कैदीबन्दी पीडित भएका उनको भनाइ छ।
    कारागारको यो अवस्था अन्त्य गर्न क्षमताभन्दा बढीका कैदीबन्दी अन्यत्र लान र कारागारमा भौतिक व्यवस्थापन जुटाउन स्थानीय प्रशासन र कारागार व्यवस्था विभागमा कैयौँपटक आग्रह गरिए पनि सुनुवाइ नभएको गुनासो कारागार प्रशासनको छ। विशेषगरी न्यायिक निकायबाट न्याय सम्पादनमा हुने गरेको ढिलाइले पुर्पक्षका लागि थुनुवाको सङ्ख्या निकै बढेको  र धनुषा जिल्लाका  न्यायिक र अर्धन्यायिक निकायले समेत पठाउने गरेका कारण यहाँ कैदीबन्दीको सङ्ख्या निकै बढेको हो। कैदीबन्दीको सङ्ख्या अत्यधिक बढ्दा कारागारको भित्री व्यवस्थापन अस्तव्यस्त हुने गरेको पाइएको छ।  महोत्तरी कारागारमा रहेका ४६५ कैदीबन्दीमध्ये ६० प्रतिशत पुर्पक्ष थुनुवा रहेका कारागार प्रशासनले जनाएको छ। त्यसैगरी कूल कैदीबन्दीको  सोही प्रतिशत सङ्ख्या धनुषा जिल्लाका रहेको निमित्त कारागार प्रमुख साहले बताए।
 विसं १९१३ मा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएका यो कारागार त्यसयता मर्मतसम्भार हुन नसक्दा दिनहुँ पर्खाल र छत उप्केर झरिरहेको छ। अन्य समस्यासँगै पुरानो भवनको पर्खालका इँटा झर्ने र छतका सिमेन्टको टुक्रा उप्केर झर्दा बसाइ डरलाग्दो भएको कैदीबन्दीले बताएका छन्। रासस

प्रकाशित: ३० चैत्र २०७५ ०४:१६ शनिबार

कैदीबन्दी बिरामीको_सङ्ख्या महोत्तरी_कारागार