समाज

सातौंपटक जिब्रो छेड्दै बुद्धकृष्ण

भक्तपुरको मध्यपुरथिमि नगरपालिका– ८, बोडेको खासी टोलमा वैशाख २ गते जिब्रो छेड्ने जात्रा मनाइन्छ। जात्रामा एक व्यक्तिले जिब्रो छेड्छन्। यस वर्ष ४७ वर्षीय बुद्धकृष्ण बागले सातौंपटक जिब्रो छेड्दैछन्। गत वर्ष पनि उनले नै जिब्रो छेडेका थिए।

उनले पहिलोपल्ट २०६२ सालमा जिब्रो छेडेका थिए। त्यसयता उनले २०६५ सम्म निरन्तर रूपमा जिब्रो छेडेका थिए। संस्कृति बचाउन जिब्रो छेडेको उनी सुनाउँछन्। ‘नयाँ पुस्ता कोही पनि जिब्रो छेड्न मान्दैनन्, त्यसैले यस वर्ष पनि म नै जिब्रो छेड्दै छु,’ उनले सुनाए। जात्रामा बोडेका स्थानीयले मात्र जिब्रो छेड्न पाउने उनले बताए।

उनका अनुसार पहिला जिब्रो छेड्नेले इष्टमित्रलाई भोज खुवाउने चलन थियो। तर, गत वर्षदेखि मध्यपुर थिमि नगरपालिकाले यसबाफत १ लाख रूपैयाँ व्यवस्था बजेट दिने व्यवस्था गरेको छ। उक्त रकम जिब्रो छेर्ने व्यक्तिसँगै बाजा बजाउने, जिब्रो छेडाउने तथा अन्य सहयोगीलाई दिइने गरेको उनले बताए। जिब्रो छेड्नुभन्दा दुई दिनअघिदेखि खानेकुरा नखाने गरेको बुद्धकृष्ण बताउँछन्। ‘दुई दिनसम्म खाना नखाने हो भने जिब्रो छेड्दा दुख्दैन,’ उनले सुनाए। उनी दुई दिनसम्म पानी मात्रै पिउने गरेका छन्। एक महिनादेखि भुटेको तोरीको तेलमा डुबाइ राखेको करिब १ फिट लामो सियोले जिब्रो छेडिने उनले बताए। त्यसअघि जिब्रो छेड्ने व्यक्तिलाई शक्तिपिठको दर्शन गराइन्छ।

उनका अनुसार जिब्रो छेर्ने दिन विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी (घुङ्ग्रोे) लगाउने परम्परा छ। जिब्रो छेड्ने व्यक्तिलाई बाजागाजासहित सम्मान गरिने परम्परा छ। बुद्धकृष्ण एम्बुलेन्स चालक संघ भक्तपुरका अध्यक्ष र कोरिया नेपाल मैत्री अस्पतालमा एम्बुलेन्स चालकका रूपमा कार्यरत छन्।

क–कसले छेडे जिब्रो ?
हालसम्म क–कसले जिब्रो छेडे भन्ने यकिन तथ्यांक छैन। स्थानीयका अनुसार अहिलेसम्म बेखानारायण हाय श्रेष्ठले सबैभन्दा बढी ३२ पटक जिब्रो छेडेका छन्। यस्तै, हर्कनर सिंहले २२, कृष्णचन्द्र बाग श्रेष्ठले १२, जुजुभाइले ८, चन्द्रसेन घो श्रेष्ठ तथा दिलकुमार खपे श्रेष्ठले सात–सात, बुद्धकृष्ण बाग श्रेष्ठले ६, हरिभासिक श्रेष्ठ तथा हर्केश्वर श्रेष्ठले ३–३, इन्द्र बाटा श्रेष्ठले २, हरिदेव किला श्रेष्ठ, मुनि घो श्रेष्ठ तथा धर्मराज बलाम श्रेष्ठले १ पटक जिब्रो छेडेका छन्।

 

प्रकाशित: ३० चैत्र २०७५ ०३:२१ शनिबार

संस्कृति जिब्रो_छेड्दै