समाज

ठक्कर दिने टिपरमा आगजनी

फाइल तस्बिर

बेत्रावती - टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा नुवाकोटको बट्टारमा आज १ जनाको मृत्यु भएको छ। बट्टारबाट गङ्गटेतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिपरले ठक्कर दिँदा विदुर नगरपालिका–२ का दिवाकर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिए।

प्रहरीका अनुसार टिपरको ठक्करबाट ना३३प ३४६६ नम्बरको मोटरसाइकल चालक २३ वर्षीय खनालको घटनास्थलमै मृत्यु भएको हो। मोटरसाइकलमा सवार मुन्ना गुप्ता सामान्य घाइते भएका छन्। दुर्घटनापश्चात आक्रोशित स्थानीयवासीले ठक्कर दिने बा५ख २८९८ नम्बरको टिपरमा आगजनी गरिदिएका छन्। आगजनीपछि टिपरमा पूर्णरुपमा क्षति पुगेको थियो।

दोषी चालकलाई कडा कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयवासीले बट्टारबजार–गङ्गटे सडकखण्ड अवरुद्ध गरेका छन्। (रासस)

प्रकाशित: २९ चैत्र २०७५ ०६:३० शुक्रबार

टिपर आगजनी दुर्घटना