समाज

फर्निचर उद्योगमा आगलागी हुँदा करोडौंको क्षति

आगलागीबाट क्षति भएको ओम प्लाई एण्ड फर्निचर उद्योग। तस्बिर/नागरिक

नेपालगन्ज–  नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ उदयपुरमा रहेको ओम प्लाई एण्ड फर्निचर उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ।

शुक्रबार बिहान करिव ४ बजेतिर उद्योगमा एक्कासी आगलागी भएको थियो। आगलागीबाट करिव ५/६ करोड रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) अरुण पौडेलले जानकारी दिए। ‘करिव ५/६ करोड जतिको क्षति भएको कुरा उद्योग सञ्चालकले भन्नु भएको छ, क्षति यकिन गर्न बाँकी नै छ,’ उनले भने।

आगलागी लगत्तै पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा तथा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको दमकलको सहायताले बिहान ७ बजेतिर आगो नियन्त्रणमा लिएका थिए। आगलागीको कारण खुल्न नसकेपछि बोईलर मेसिनबाट आगो सल्केको हुन सक्ने अनुमान गरिएको छ।

घटनाको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतसिंह राठौंरको नेतृत्वमा खटिएको टोलीले अनुसन्धान सुरु गरेको छ। ‘राती ९ बजे उद्योगको मेसिन बन्द गरिएको रहेछ, बिहान पख ४ बजेतिर मात्र आगो फैलिएको थाहा भएछ,’ राठौंरले भने। आगलागीबाट एक करोड ६० लाख मुल्य पर्ने एउटा मेसिनमा समेत क्षति पुगेको उनले बताए। ‘अरु मेसिनरी सामान पनि जलेको कुरा उद्योग सञ्चालकले बताउनु भएको छ, अरु पनि मेसिनरी सामान जलेको छ,’ उनले भने।

उद्योग सञ्चालक पशुपति दयाल मिश्रले क्षतिको यकिन नभएपनि ५/६ करोड बराबरको क्षति भएको हुन सक्ने बताए। प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा तथा दमकल समयमै आएका कारण थप क्षति हुन नपाएको मिश्रले बताए।

गर्मीयाम सुरु भएसँगै जिल्लामा आगलागीका घटना सुरु हुन थालेका छन्।

प्रकाशित: २९ चैत्र २०७५ ०५:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App