समाज

दुई लाख बराबरको औषधी हस्तान्तरण

दुई लाख बराबरको ४० प्रकारका औषधी निशुल्क हस्तान्तरण गर्दै । फोटो/नागरिक

सोलुखुम्बु–प्राथमिक स्वास्थ्य केन्द्र सल्यानलाई हिमालयन ट्रष्ट नेपालले अत्यावश्यक औषधी हस्तान्तरण गरेको छ। हिमालयन ट्रष्ट नेपालले सरकारबाट प्राप्त हुने भन्दा फरक (स्थानीय स्तरमा आवश्यक) औषधी खरिद गरी बुधबार स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको हो।

नेचासल्यान गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोला र हिमालयन ट्रष्ट नेपालका जिल्ला संयोजक नव भूजेलले संयुक्त रुपमा ४० प्रकारका औषधी वडा नं २ सल्यानका वडाअध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष भेषकुमार बास्तोलालाई हस्तान्तरण गरेका हुन्। ६ लाख बराबरको औषधी तीन बर्षसम्म सहयोग गर्ने सम्झौता गरिएअनुसार निशुल्क औषधी वितरण गरिएको हो।

‘समुदायको आवश्यकताको आधारमा स्वास्थ्य केन्द्रले माग गरेका औषधीहरु खरिद गरि हस्तान्तरण गरेका हौ।’ ट्रष्टका जिल्ला संयोजक भूजेलले भने, ‘यो सहयोग दोस्रो बर्षका हो। यो सहयोगले सर्वसाधारण लाभान्वित हुन्छन् भन्नेमा विश्वस्त छौ।’ हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोलाले हरेक सर्वसाधारणमा स्वास्थ्यको पहूँच पु-याउनका लागि औषधी सहयोगले टेवा पुग्ने बताए।

 

 

प्रकाशित: २८ चैत्र २०७५ ०९:०६ बिहीबार

औषधी प्राथमिक_स्वास्थ्य_केन्द्र निशुल्क_औषधी