समाज

१० महिनामै बन्यो मोटरेबल पुल

सोलुखुम्बु– सोलुदुधकुण्ड नगरपालिका–६ खोरियास्थित सोलुखोलामा मोटरेबल पुल १० महिनामै सम्पन्न गरी उद्घाटन गरिएको छ।

नगरपालिकाकोे नेतृत्वमा अपरसोलु हाइड्रोपावर र जिल्ला समन्वय समितिको सयुंक्त लगानीमा निर्माण गरिएको ३० मिटर लामो सो पुलको मेयर नाम्गेल जाङबु शेर्पाले उद्घाटन गरेका हुन् ।

मेयर शेर्पाले बेलीडाँडा–साल्मे सडकको वैकल्पिक मार्गको रूपमा प्रयोग गर्ने खोरिया–बाघखोर सडक सञ्चालनको बाटो खुलेको बताए। उनले भने, ‘सिस्नेरी पहिरो रोकथामको विकल्प नपाइरहेको अवस्थामा बाघखोर–खोरिया सडक वैकल्पिक रूपमा सञ्चालनमा आउनु खुसीको कुरा हो।’ मेयर शेर्पाले तामाखानी, बेनीलगायत क्षेत्रका निर्माणाधीन तीनवटा मोटरेबल पुल आगामी तीन हप्ताभित्र उद्घाटन गर्ने दाबी गरे। हरेक वडामा सडक सञ्जाल जोडिएकाले दिगो यातायात सञ्चालनका लागि चारवटा मोटरेबल पुलको टेन्डर प्रक्रिया थाल्ने तयारीमा रहेको मेयर शेर्पाले बताए।

सोलुदुधकुण्ड नगरपालिकाको विकास बजेट, अपरसोलु हाइड्रोपावरको सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम र तत्कालीन जिल्ला विकास समितिको बजेट गरी करिब पाँच करोड रुपैयाँको लगानीमा सो पुलको निर्माण सम्पन्न भएको हो।

७५ टन भारवहन क्षमता भएको खोरिया पुलको नगरपालिकाको विकास बजेट, अपरसोलु हाइड्रोपावरको सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम र तत्कालीन जिल्ला विकास समितिको बजेट गरी करिब पाँच करोडको लगानीमा निर्माण सम्पन्न गरिएको हो। निर्माणको जिम्मा सिई कन्स्ट्रक्सन कम्पनीले लिएको थियो । तोकिएकै समयमा गुणस्तरीय पुल निर्माण हुनु खुसीको कुरा भएको मेयर शेर्पाले बताए।

नेपाने युवा क्लब खोरियाको आयोजनामा भएको उद्घाटन कार्यक्रममा अपरसोलु हाइड्रोपावरका साइड इन्चार्ज मार्कन्डेय न्यौपानेले सामाजिक उत्तरदायित्व पूरा गर्न कुनै कसर बाँकी नराखेको दाबी गरे। कार्यक्रममा पर्यटन व्यवसायी बच्चुनारायण श्रेष्ठले कृषि र पर्यटनको विकास र विस्तारबाट मात्र समृद्धि सम्भव रहेको बताए। क्लबका अध्यक्ष ङिमा शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका–६ का वडाध्यक्ष रामकुमार श्रेष्ठले आगामी आवमा सडकको स्तरोन्नति गरेर बाह्रै महिना सडक सञ्चालन गर्ने बताए।

पुल समयमै सम्पन्न गर्न खोरिया क्षेत्रका नागरिकको पनि अहम् भूमिका रहेको सरोकारवालाले बताएका छन्। पुलसँगै ग्रामीण सडक सञ्चालनमा आएपछि कृषि उत्पादनमा जोड दिनुपर्ने उनीहरूले बताएका छन्। खोरिया र भित्ताखर्कका नागरिकले विकासको ढोका खुलेको प्रतिक्रिया दिएका छन्।

कार्यक्रमको अवसरमा विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मानसमेत गरिएको छ। सोलु दूधकुण्ड नगरपालिका, अपरसोलु हाइड्रोपावर र निर्माण कम्पनी सिई कन्स्ट्रक्सनलाई सम्मान गरिएको हो। त्यस्तै राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ब्याडमिन्टनमा प्रदेशस्तरीय प्रतिस्पर्धाबाट छनोट भएका स्थानीय पेम्बा शेर्पालाई समेत सम्मान गरिएको छ।

प्रकाशित: २७ चैत्र २०७५ ०६:१८ बुधबार

मोटरेबल_पुल सोलुदुधकुण्ड_नगरपालिका