वीरगन्ज– गत १७ गते साँझ आएको विनाशकारी हावा हुण्डरीले घरबार बिहीन भएकाहरुले राहतको त्रिपालमा ओत लाग्न खोजिरहेको बेला अकाशबाट गड्याङ्ग गुडुङ्गसंगै बेला बेलामा पानी पर्न पनि सुरु भएको छ। चैत्रको महिनामा दिउँसो घरमा राप सहन नसक्ने हुन्छ, रातको अन्तिम पहरमा वा पानी परेको बखत जाडोले सताउँछ। भनाई नै छ, ‘चैतको जाडो थेग्न नसकेकाले गाई बेंचेर कम्बल किन्छन्। घाम थेग्न नसक्नेले छाता।’ यस्तोमा घाम, पानी र हवाले सताउँदैछ, हावाहुरीबाट बेघर भएका पीडितलाई।
‘हिजो (शनिवार) साँझैदेखि मौसम खरब भएपछि हामी निकै डराएका थियौं, हावा पनि चलेको थियो, हाम्रो घर अब छैन, अस्ती सेनाले लगाइदिएको टेन्टमा १० परिवार बस्छ, खाना के खाने ठेगान थिएन, चिउरा र चाउचाउ पाएका छौं, त्यही खाएर बस्नु पर्ला भन्ने थियो’, सामूहिक भोजनालय (मेस)मा भेंटिएकी भरवलियाकी अञ्जली राउतकुर्मीले भनिन, ‘यहाँ खाना पाइँदैछ भन्ने थाहा भएपछि राति १० बजे आएर खाना लगेर खायौं।’ कलैया जेसीले चलाएको मेसमा आइतवार बिहान १० बजे खाना लिन आएकी बालिकाले अघिल्लो साँझको घट्ना सुनाइन। शनिबार मौसम खराब भएपछि आधीहुरी पीडितमा थप त्रास फैलिएको छ।
स्थानीय बासहरु बनाउनेतिर अब सबैको ध्यान केन्द्रीत हुनुपर्ने उनले बताए। अरु ठाउँमा ‘मेस’बन्द भए पनि अधिक भौतिक नोक्सानी भएको भरवलियामा भने अझ चलिरहेको छ। अवस्था हेरेर चलाउनु परेको कलैया जेसिका अध्यक्ष राजेश कुशवाहाले बताए। बिहान बेलुका गरी हजार बढीलाई आफूहरुले खाना खुवाई रहेको उनले बताए। व्यक्तिगत रुपमा मानिसहरुले घरघरमा चुल्हो बालेर खाना बनाउन सुरु गर्न जरुरी रहेको राहत तथा उद्दारमा खटेकाहरु बताउँछन्। आइतवारदेखि ‘एसइई’ बाहेकका विद्यार्थीहरु पनि विद्यालय जान थालेका छन्। प्रभावित गाउँका विद्यालयहरु समेत भत्केकाले मौसमको प्रभावितमा पनि पर्ने देखिएको जेसिका साहले बताए। अरु बेला समस्या पर्दा शरण लिने ठाउँको रुपमा रह्ने विद्यालय पनि यस आँधीहुरीमा बँचेन।
प्रकाशित: २४ चैत्र २०७५ १५:२१ आइतबार