समाज

वडा भवनका लागि जग्गादान

रसुवा – कालिका गाउँपालिका–२ का इन्द्रबहादुर न्यौपानेले वडा कार्यालय निर्माण गर्न जग्गादान गरेका छन्। वडा कार्यालयको आफ्नै भवन नहुँदा समस्या रहेको देखेपछि उनले २० लाख मूल्यबराबरको जग्गा निःशुल्क उपलब्ध गराएका हुन्।

अहिले वडा कार्यालय भाडामा सञ्चालन हुँदै आएको छ। जग्गा प्राप्त भएसँगै भवन निर्माणको बाटो खुलेको वडाध्यक्ष विक्रम लामाले बताए। कालिका गाउँपालिकामा पाँचवटा वडा रहेका छन्।

यीमध्ये वडा १ र ३ को भवन निर्माण भइरहेको गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए। ‘चालू आव २०७५÷७६ भित्र वडा नम्बर १ को भवन निर्माण भइसक्छ,’ उनले भने, ‘३ नम्बरको आगामी आवमा सम्पन्न हुनेछ।’

प्रकाशित: २४ चैत्र २०७५ ०२:१७ आइतबार

कालिका_गाउँपालिका इन्द्रबहादुर_न्यौपाने वडा_कार्यालय जग्गादान