समाज

मोडिएको बाटोमा सङ्घर्षको कथा

काठमाडौं – बस्ने अनुकूलता नभएपछि अरू मान्छे घर छोडेर हिँड्छन्, उनी घिस्रिए। आमाको गहना ‘चोरेर’ घिस्रिँदै घरको सँघार नाघेको दिन उनलाई अब कहाँ जाने, के गर्ने केही थाहा थिएन। केवल पारिवारिक ‘बोझ’ नबन्ने, आफ्नै सङ्घर्षको बलमा जीवन चलाउने चाहना मनमा थियो।

२०४३ पुस ८ गते घर नजिकैको अर्लीभीरबाट खसेर सग्लो शरीर अपांग भएपछि अहिलेका चर्चित लोकगायक तथा सर्जक खड्ग गर्बुजा मगरको जीवनको लक्ष्य र बाटो मोडियो। मौलिक महुरी बाजाका साथमा नेपाली जनजीवनका गीतहरू गाउँदै ‘हिँड्ने’ खड्ग गर्बुजाले आफूलाई स्थापित गर्न गरेको सङ्घर्षलाई लिपिबद्ध गरिएको पुस्तक ‘मोडिएको बाटो’ लाई केन्द्रबिन्दुमा राखेर बुधबार काठमाडौंमा अन्तक्र्रिया गरियो। ‘अरू दुःख परेपछि घर छोडेर हिँड्छन्, म घस्रिएँ,’ सङ्घर्षका प्रारम्भिक दिन सम्झिँदै गर्बुजाले भने, ‘त्यसपछि जसरी–तसरी बेनी पुगेँ। बेनीमा हिलोमा, धुलोमा घिस्रेर गीत गाउँथे।’

घर छोड्ने बेलामा ‘पोखराको सेतीझैं लुकम्ला, जहाँ पुगम्ला उहीं आगो फुकम्ला’ भन्ने लोकोक्तिको प्रेरणा मनमा बोकेर निरन्तर संर्घषमा होमिएको उनले बताए। भीरबाट लड्नुअघि उनी गल्लाबाट ब्रिटिस लाहुरेका लागि छनोट भएका थिए। छनोट भएको पन्ध्रौं दिनमा तालिमका लागि लैजाने भनिएको थियो। तर एक हप्तापछि नै भीरबाट लडेर उनको जीवनको बाटै बदलियो। ‘मोडिएको बाटोमा गर्बुजाले आफूलाई नकारात्मकताको पृष्ठभूमिबाट आफूलाई सकारात्मकताको शीर्षमा कसरी पु¥याए भन्ने विशिष्ट कथा छ, जो अपांगता भएका वा नभएका सबैका लागि प्रेरक छ,’ अन्तक्र्रियाका क्रममा सम्पादक अमृत दाहालले भने, ‘गर्बुजाले जीवनका लागि गरेको संघर्ष कुनै सिनेमाको अपत्यारिलो कथानक जस्तो छ।’

पुस्तकबारे बोल्दै प्रकाशक कमल ढकालले गर्बुजाको कथा छाप्ने क्रममा जति घटना–प्रसंग खोतल्दै, सुन्दै गयो, उति आफू संवेदित भएको बताए। ‘हरेक मान्छेको संघर्ष कथा विशष्टि हुन्छ,’ ढकालले भने, ‘तर गर्बुजाको कथा अति विशिष्ट र हरेक प्रसंग मन रुवाउने खालको छ।’ गर्बुजाको ‘मेडिएको बाटो’ आत्मकथा घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको हो। गर्बुजाले गाएका सालैज्यू, शिरफूल माया, सम्झना मनैमा, सुन मुरलीलाईलगायत लोकगीत निकै सुनिएका, मन पराइएका छन्।

 

प्रकाशित: २३ चैत्र २०७५ ०२:२० शनिबार

सङ्घर्ष लोकगायक कथा