समाज

अवरुद्ध विद्युत् आयोजना सुचारु

खोटाङ - खिदिमामा चट्याङका कारण अवरुद्ध भएको विद्युत् आयोजना सुचारु भएको छ। गत चैत १२ गते हावाहुरी तथा पानीसँगै परेको चट्याङका कारण अवरुद्ध भएको साकेला गाउँपालिका–३ खिदिमाको बोपुङस्थित तावाखोला तेस्रो लघु जलविद्युत् आयोजना मर्मतपछि सुचारु भएको हो।

चट्याङका कारण आयोजनाको एलसिबोर्ड बिग्रिएको थियो। सो एलसिबोर्ड बुटवल लगी मर्मत गरेर ल्याइएको आयोजनाका अध्यक्ष लोकप्रसाद राईले बताए।

चट्याङका कारण लघुजलविद्युत् आयोजनामा क्षति पुग्दा खिदिमा र साकेला गाउँपालिकाको मात्तिमको माथिल्लो क्षेत्रका स्थानीय र दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी बास्थलाका गरी दुई सय ५२ परिवार मारमा परेका थिए। हालसम्म केन्द्रीय लाइन पुग्न नसकेको सो क्षेत्रका स्थानीयले लघु जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली उपभोग गर्दै आएका छन्।

प्रकाशित: २२ चैत्र २०७५ ०३:३८ शुक्रबार

चट्याङ विद्युत्_आयोजना