समाज

बारमा प्रगतिशीलको दुई तिहाइ

काठमाडौं – कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा प्रगतिशील पेसागत समूहका चण्डेश्वर श्रेष्ठसहित बहुमत सदस्य विजयी भएका छन्। महासचिवमा भने लोकतानुन व्यवसायीका तर्फबाट लीलामणि पौडेलले प्रतिस्पर्धीलाई उछिनेका छन्। गत शनिबार भएको चुनावको मतगणना सकिएपछि बिहीबार साँझ परिणाम सार्वजनिक भएको हो। अध्यक्षमा विजयी श्रेष्ठले चार हजार २२ मत पाए भने निकटतम प्रतिद्वन्द्वी सुनिलकुमार पोखरेलको भागमा तीन हजार आठ सय ३७ मत प-यो।

बारको नव निर्वाचित २५ सदस्यीय कार्यसमितिमा प्रगतिशील समूहका २३ जना विजयी भए भने लोकतान्त्रिक समूहबाट महासचिव, प्रदेश ५ का उपाध्यक्ष र एकजना सदस्य गरी तीनजनामात्र विजयी भए। महासचिवमा विजयी लीलामणि पौडेलले चार हजार एक सय ७८ र निकटतम प्रतिद्वन्द्वी सुरेन्द्रबहादुर थापाले तीन हजार सात सय एक मत पाए। कोषाध्यक्षमा रुद्रप्रसाद पोखरेल चार हजार ४६ मतसहित विजयी भए। त्यसैगरी प्रदेश उपाध्यक्षमा १ का मानबहादुर रुम्दाली, २ का रामचन्द्र सिंह, ३ का ईश्वरीप्रसाद भट्टराई, गण्डकीका सुरेन्द्र थापामगर, ५ का सुनिलकुमार श्रेष्ठ, कर्णालीका मीनबहादुर महत र सुदूरपश्चिमका उमेशप्रसाद विष्ट निर्वाचित भएका छन्।

महिला उपाध्यक्षमा रक्षा बस्याल, दलित सदस्यमा मोहन शाहशंकर, मधेसी–मुस्लिम उपत्यका बाहिरबाट पञ्चनारायण मण्डल, मधेसी मुस्लिम खुलाबाट मनोजकुमार चौधरी विजयी भएका हुन्। बारको सदस्यमा आदिवासी जनजातिमा उपत्यकाबाहिरबाट बिनाकुमारी सिंह, खुलाबाट बद्रीनारायण नगरकोटी, उपत्यका बाहिर महिलामा कल्पनाकुमारी भण्डारी, महिला खुलामा अन्जु कायस्थ, उपत्यका बाहिर खुलामा शिवराज पण्डित, खुलामा गंगासागर खत्री, भिमसेन बन्जारा, भुवनप्रसाद निरौला, प्रकाश महर्जन, बालकृष्ण गैरे, खिमानन्द अधिकारी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। देशभरका वरिष्ठ अधिवक्ता, अधिवक्ता र अभिवक्ता गरी १० हजार तीन सय १३ मतदाता रहेको बारमा आठ हजार तीन २९ मत खसेको थियो। बारमा यसअघि लोकतान्त्रिक पक्षको नेतृत्व थियो। त्यसभन्दाअघि प्रगतिशील पक्षको नेतृत्व थियो। बारको नेतृत्वमा लोकतान्त्रिक र प्रगतिशील पक्ष आलोपालो जस्तै विजयी हुँदै आएको छ।

प्रकाशित: २२ चैत्र २०७५ ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App