समाज

हुरी पीडितलाई इन्जिनियरहरुको राहत, भौतिक संरचनाको प्राविधिक अध्ययन सुरु

बारा– बारा र पर्साका हावाहुरी पीडितलाई इन्जिनियरहरुले राहत वितरण गरेका छन्। सत्तारुढ दलनिकट इन्जिनियरहरुको संगठन प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएशन केन्द्रीय कमिटीले संकलन गरेको नगद, जिन्सी सामान बारा र पर्साका विभिन्न ठाउँमा राहात वितरण गरिएको इन्जिनियर सन्जीव रोकाहाले जानकारी दिए। प्रभावित क्षेत्रमा रहेका रोकाहाले पीडितले राहत सामग्री पाए पनि विजुलीको समस्या रहेको जानकारी गराए। 

प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएशनका सचिवालय सदस्य इन्जिनियर शिवमंगल गिरीको नेतृत्वमा सञ्जिब रोकाहा, टेकराज सुवेदी, सुरज गौतम, सुगन्ध सुवेदी, विजय थारु, दिलीप विश्वकर्मा, रान एक्वाल यादवसहितको टोलीले संकलित राहत सामग्री बाराको तेल्कुईमा ४३ घरधुरीलाई वितरण गरेको छ। प्रत्येक परिवारलाई २५ केजी चामल, झुल, पानी, जुस र सावुन बितरण गरिएको रोकाहाले बताए।

उनका अनुसार इन्जिनियर टिमले हावाहुरीका कारण क्षतिग्रस्त भौतिक संरचनाको प्राविधिक अध्ययन समेत सुरु गरेको छ। संकलित अध्ययन प्रतिबेदन नेकपाका अध्यक्षद्वयलाई बुझाई उचित प्राविधिक सल्लाह सुझाव समेत दिने तयारी एशोसिएशनले गरेको छ।

प्रकाशित: २१ चैत्र २०७५ १२:१० बिहीबार

हावाहुरी बारा_र_पर्सा इन्जिनियर भौतिक_संरचना प्राविधिक_अध्ययन