समाज

६ वटा पसलमा आगलागी हुँदा ६० लाखको क्षति

सर्लाही– जिल्ला सदरमुकाम मलंगवा स्थित ६ वटा विभिन्न पसलमा आगो लाग्दा ५९ लाख ५० हजार रुपैंया बराबरको धनमाल नष्ट भएको छ।

मलंगवा नगरपालिका–१० जिविस चोक निवासी शंकर गुप्ताले बाख्रा बाँध्ने गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट बिहीबार बिहान २ बजे आगलागी सूरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीय नारायण ठाकुरको फर्निचर पसलका सम्पूर्ण सामान जल्दा २५ लाख, प्रमोद शर्मा ठाकुरको फर्निचर पसल जल्दा १५ लाख, राज किशुन पण्डितको किराना पसल जल्दा १० लाख, हुसैन मुकेरीको सिरक डसनाको पसल जल्दा ४ लाख, पिण्टु यादवको आर्टिष्ट पसल जल्दा ३ लाख र शम्भु ठाकुर हजामको शैलुन पसल जल्दा २ लाख ५० हजार रुपैंया बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

राती एक्कासी लागेको आगो प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगले झण्डै पौने दुईघण्टा पछि नियन्त्रणमा लिईएको थियो। मलंगवा नगरपालिकामा दुई वटा दमकल भएपनि एउटा निकै पूरानो र जीर्ण भएकाले कामनलाग्ने अवस्थामा छन्। त्यस्तै ६–७ वर्षअघि ल्याइएको अर्को दमकल समेत बिग्रिएर मर्मतका लागि वीरगंजमै थन्किएकाले ३० किलोमिटर उत्तर हरिवन नगरपालिकाको दमकल मगाउनु परेको थियो। १ किलोमिटर छेउ मलंगवा नगरपालिका कार्यालयमा स्ट्याण्डबाई राखिने दमकल नहुँदा ठूलो क्षति व्यहोर्नु परेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २१ चैत्र २०७५ ०९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App