समाज

खानेपानी विभाग भन्छ- 'हावाहुरी प्रभावित क्षेत्रमा खानेपानीमा समस्या छैन'

काठमाडौं - खानेपानी  विभागले बारा र पर्साकाे हावाहुरी प्रभावित क्षेत्रमा खानेपानीमा समस्या नभएकाे बताएकाे छ। 

विभागको प्राविधिक टोलीले बारा र पर्सामा आएको हावाहुरीबाट पीडित समुदायका लागि वितरण गर्न खानेपानी डिभिजन कार्यालय बारालाई एक हजार वटा पियुष र १५ हजार जति अक्वा ट्याब दिएको छ। 

प्राविधिक टोलीले खानेपानी डिभिजन कार्यालय बारा मार्फत वितरण गर्न पीडितका लागि पियुष र पानी शुद्धीकरण गर्ने ट्याब दिएको हो।

पानीको गुणस्तर जाँच गर्ने उद्देश्यले काठमाडौंबाट पठाइएको वाटर एम्बुलेन्सले उक्त क्षेत्रमा पानी परीक्षण गर्दा त्यस्तो कुनै गम्भीर समस्या नदेखिएको विभागका पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेले जाए दिए। ‘पानीको स्रोतमा त्यस्तो कुनै खराबी छैन, पाण्डेले भने, तर ट्वाइलेटको भने मुख्य समस्या छ। जथाभावी दिशा पिसाब गर्दा पानीमा समस्या आउन सक्छ। त्यसैले सबै सचेत हुनु जरुरी छ।’ 

विशेषज्ञ पाण्डेले पानीका स्रोतमा ब्याक्टेरिया मार्न ५० किलो ब्लिचिङ पाउडरसमेत खानेपानी डिभिजन कार्यालय बारामा दिइएको जानकारी दिए। 

हावाहुरी आँधीले क्षति पुर्‍याएको बस्तीमा पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन खानेपानी मन्त्रालयको निर्देशनअनुसार विभागले पानी शुद्धीकरण गर्ने आधुनिक उपकरणसहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको थियो।विशेषगरी तराईमा चापाकलको मद्दतले भूमिगत पानीका स्रोतबाट पानी पिउने भएकाले स्थलगत रुपमै पानीको गुणस्तर जाँची पिउन हुने या नहुने भन्ने कुरा वाटर एम्बुलेन्सबाट थाहा हुन्छ। 

प्रकाशित: २१ चैत्र २०७५ ०९:१० बिहीबार

खानेपानी_विभाग हावाहुरी बारा-पर्सा पानी_गुणस्तर