समाज

खुम्बुलाई पर्यटकीय गाउँपालिका घोषणा गर्छु : मुख्यमन्त्री राई

सोलुखुम्बु - विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित स्थानीय तह खुम्बु पासाङ ल्हामू गाउँपालिकामा सडक पुगेको छ। माप्य दूधकोशी गाउँपालिका हुदै खुम्बुपासाङल्हमू गाउँपालिकाको खरिखोलामा पु-याइएको सडकको मंगलबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन्।

आगामी दुई बर्षमा चौरीखर्कसम्म विस्तार गर्ने योजना रहेको सडक निर्माणका लागि प्रदेश सरकारले बजेटको व्यवस्था मिलाउने मुख्यमन्त्री राईले प्रतिबद्धता गरे। उनले भने, ‘पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण खुम्बुमा पर्यटकको आवागमन वृद्धि गर्न पनि चौरीखर्कसम्म सडक आवश्यक छ। त्यसमा प्रदेश सरकारले प्राथमिकतामा राखेर काँध हाल्छ।’

सडकको पहुँच पुगेपछि आन्तरिक पर्यटक पनि ह्वात्तै बढ्नेमा आफू आशावादी रहेको उनले बताए। मुख्यमन्त्री राईले मौसम प्रतिकूल बनेको बेला पर्यटकलाई सडक यात्राको लागि पनि सहज विकल्प हुने भएकाले सुविधासम्पन्न सडक निर्माण आवश्यक रहेको बताए।

बर्सेनि लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल मौसम प्रतिकूलताका कारण अवरुद्ध हुने गर्दछ। मुख्यमन्त्रीले हरेक वर्ष पचासौं हजार स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने स्थानीय तहलाई ‘पर्यटकीय गाउँपालिका’ घोषणा गर्ने र पुरस्कृत गर्ने उद्घोषसमेत गरे।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य हेमकुमार राई ‘सुरवीर’ले सगरमाथा सडक सबैको साझा एजेण्डा बन्नुपर्ने बताए। सडक संचालनमा आएपछि पर्यटकको संख्यामा समेत उल्लेख्य वृद्धि आउने सांसद राईको भनाइ छ।

गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले चीनतर्फको नाङपाला नाका खोल्न सके खुम्बुको विकासमा थप टेवा पुग्ने भएकाले नाका खोल्न पहलकदमी लिन प्रदेश सरकारलाई आग्रह गरे। कार्यक्रमको अवसरमा दलित भवनको उद्घाटन गरिएको छ भने एक सामुदायिक भवनको शिलान्यास गरिएको छ।

 

प्रकाशित: २० चैत्र २०७५ १४:३२ बुधबार

खुम्बु पर्यटकीय_गाउँपालिका सगरमाथा